बागलुङ/ लामो समयपछि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा बागलुङले पनि त्यसको लाभ लिएको छ । बागलुङमा पहिलोपटक राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । ‘आईटिएफ तेक्वान्दो’को उर्वरभूमि मानिने बागलुङले नवौं राष्ट्रिय खेलकुदमा सोही खेल खेलाउने मौका पायो । यसबाट स्वभाविक रुपमा बागलुङको खेल क्षेत्रमा नयाँ आयाम थपिएको छ ।
अन्तिम समयसम्म बागलुङले कुन खेल खेलाउने भन्ने टुंगो लागेको थिएन् । बागलुङमा भएका पूर्वाधारले धान्न सक्नेगरी मागेका विविध खेलहरुमध्ये आईटिएफ खेलाउने अवसर बागलुङलाई मिल्यो । बुधबार ४५ स्वर्ण ४५ रजत र ३० कास्य गरी कूल १२० पदकको टुंगो लागेसँगै खेलका कारण बागलुङलाई भएको नाफा घाटाको चर्चा सुरु भएको छ ।
राष्ट्रिय खेल सञ्चालन चुनौतीपूर्ण हुँदाहुँदै खेल सम्पन्न भएपछि बागलुङको खेलकुदको क्षेत्रमा नयाँ उर्जा थपिएको अन्तराष्ट्रिय तेक्वान्दो महासंघका सचिव राजु खड्का बताउँछन् । ‘हामी साँघुरोमा पनि फराकिलो खेल खेल्छौं र खेलाउँछौं भन्ने सन्देश देशभर प्रबाह भएको छ’ खड्काले भने ‘यो पटकको खेलले ध्यानाकर्षण गराएको छ ।’
खेलको अवलोकनका लागि बागलुङ आएका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बागलुङमा आवश्यक खेल पूर्वाधारको प्रस्ताव गर्न आग्रह गरेका थिए । ‘आईटिएफ’ भैरहेको कबर्डहल, नजिकै रहेको बाङ्गेचौर खेलमैदान र सदरमुकाममा रहेका अन्य खेलसंरचनाको बिषयमा उनले चासो राखेका थिए । ‘उहाँहरुलाई यहाँ ल्याउने बहाना बन्यो नवौं राष्ट्रिय खेलकुद, स्थलगत अवलोकनपछि उहाँहरुले दिएको बचन आगामी कार्यक्रममा पर्नेछन्’ खड्काले भने ।
खेलका लागि बागलुङ आएका देशभरका २५० जना खेलाडीले कालिका मन्दिर, लामो झोलुंगेपुल, पञ्चकोट लगायतका क्षेत्र भ्रमण गर्न छुटाएनन् । प्रतियोगिताले बागलुङका गाउँ गाउँमा खेलबिस्तार गर्न सहयोग गर्ने खड्काको विश्वास छ । ‘आईटिएफ’ प्रतियोगिताको उद्घाटनकै दिन बागलुङको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले आफ्नो पालिकामा खेल बिस्तार गर्न औपचारिक आग्रह गरेकी थिईन् ।
राष्ट्रिय स्तरको खेल हेरेका सर्वसाधारणमा समेत खेलप्रति आकर्षण बढाएको व्यवस्थापकीय जिम्मेबारी लिएको बागलुङ नगरपालिकाको विश्वास छ । ‘खेललाई वडा स्तरमा विस्तार गर्नुपर्छ, त्यसका लागि पूर्वाधार र वातावरण हामी बनाउँछौं, उहाँहरुलाई आग्रह गरेका छौं’ बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भने ‘हामप्लाई खेल बुझाउने माध्याम बन्यो प्रतियोगिता ।’
बागलुङ मार्सल आर्टका खेलहरुका लागि प्रसिद्ध ठाउँ हो । ‘आईटिएफ तेक्वान्दो’का मात्रै बागलुङमा १८ डोजो छन् । जिल्लाभर १ हजार २ सय जना खेलाडीले नियमित यो खेलको अभ्यास गर्ने गरेको तथ्यांक ‘आईटिएफ तेक्वान्दो’ संघ बागलुङसँग छ ।
‘म धेरै पहिला यहाँको क्याम्पसमा प्रदर्शन खेलका लागि आउँदा यहाँ कोही खेलेको देखिने थिएन्, अहिले यो खेलको निकै बिस्तार भएको पाएँ’ ‘आईटिएफ तेक्वान्दो’ महासंघका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य अञ्जन धमलाले भने ‘अब यो खेलको थप बिस्तार हुने छ ।’
स्थानीयस्तरमा खेलहरु भैरहने भएपनि सर्वसाधारणको चासो कम हुने गरेको थियो । राष्ट्रिय खेल हेरेका दर्शकको खेलप्रतिको चासो बढेको बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन् ।
कोरोना महामारीका कारण लामो समय थला परेका यहाँका व्यवसायीलाई पनि खेलले सकरात्मक प्रभाव छोड्यो । खेलाडी, प्रशिक्षक, रेफ्री, अफिसिएल तथा म्यानेजर गरी झण्डै ३ सय ५० जना खेलका लागि केही दिन बागलुङमा बसेकाले यहाँका होटल तथा रेष्टुँरा व्यवसायीले राहतको सास फेरे । ‘हाम्रो आतिथ्यता उहाँहरुले स्वीकार गर्नुभयो, यसले व्यवसाय र पर्यटन प्रबद्र्धनमा सहयोग गरेको छ’ व्यवसायी अर्जुन चोखालले भने ‘बागलुङ चिनाउने काम भएको छ, त्यसबाट सबै बागलुङबासीले प्रतिफल पाउँछन् ।’





