पोखरा/ कास्कीका तीनवटै संसदीय निर्वाचन क्षेत्र जितेर एमाले पाँच दलीय मोर्चाबन्दी तोड्ने र विरासत जोगाउने ध्याउन्नमा छ । एमालेविरुद्ध कास्कीका एक–एक संसदीय निर्वाचन क्षेत्र बाँडेका नेपाली कांग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि यहाँ आफ्नो प्रभुत्व देखाउन चाहन्छन् ।
गएको स्थानीय निर्वाचनको परिणामले हेर्दा उनीहरुको सोचाइ गलत लाग्दैन । तर,कास्कीमा गबठन्धनले सोचेजस्तो भइदिएन । टिकट बाँडफाँटमा ‘अन्याय’ भएको भन्दै कास्की क्षेत्र नम्बर २ मा कांग्रेसका महादेव गुरुङ ‘बागी’ बनिदिए । उता, क्षेत्र नम्बर ३ मा शहीदपुत्री अनिता भुर्तेल माओवादी उम्मेदवार रामजी बरालविरुद्ध मैदानमा आइन् ।
यी दुबै ‘बागी’ले अन्तिम समयसम्म उम्मेदवारी फिर्ता लिएनन् । जसले गर्दा कास्की क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका श्रीनाथ बराललाई जिताउने अध्यक्ष माधव नेपाल अनि क्षेत्र नम्बर ३ मा रामजीलाई जिताउने प्रचण्डको चाहनामाथि प्रहार हुनुपुग्यो । शुक्रबार गठबन्धनका तीनैजना शीर्ष नेता प्रशिक्षणको नाममा पोखरा आउँदा पनि ‘बागी’हरु केन्द्रमा रहे ।
कांग्रेस सभापति शेरबहादुर देउवामाथि कांग्रेसका महादेव र माओवादी अध्यक्ष प्रचण्डमाथि अनिताको ‘बागी’ उम्मेदवारी फिर्ता गराउने दवाव प¥यो । दुबै नेताले त्यसको लागि प्रयास गरे । माधव नेपाल आफै अगाडि सरेर महादेवको विश्वास जित्ने प्रयत्न गरे । तर,उनी सफल भएनन् । माधव नेपालले उम्मेदवारी छाड्न गरेको आग्रहपछि महादेव भावुक बने । उनका आँखा टिल्पिलाए तर उनले अडान छाडेनन् । उता,अनिताले पनि उस्तै अडान लिइन् । जसले गर्दा गठबन्धनको पोखराको प्रशिक्षण सोचेजस्तो देखिएन ।
शीर्ष नेताहरु पोखरा आएपछि बागीहरुले उम्मेदवारी फिर्ता गर्लान् भन्ने आशा राखेका कार्यकर्ता पंक्तिमा उत्साह देखिएन । भला,सो कार्यक्रममा तीनैजना शीर्ष नेताले गठबन्धनको औचित्य पु्ष्टि गर्न खोजे । कार्यकर्तालाई आस्थाभन्दा फरक चुनाव चिन्हमा भोट हाल्न आग्रह चाहिँ गरे ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फरक राजनीतिक दर्शन बोकेका माओवादी अध्यक्ष प्रचण्ड र आफूबीच नै सहमति भइसकेपछि कार्यकर्ता पंक्ति झन मिल्नुपर्ने तर्क गरे । उनले हिजो गिरिजाप्रसाद कोइराला र प्रचण्डबीच नै सहकार्यको सहमति भएको जिकिर गर्दै उनले थपे, ‘यहाँ हिजोका कुरा ल्याएर केही पाइनेवाला छैन । हिजोका कुरा सम्झिएर हुनेवाला केही छैन। सबै रिसाएका छन, गठबन्धन बन्दै गए सबैको पालो आउँछ। सरकार बने न पालो आउँछ ।
हामी माथी मिल्यौँ तल किन मिल्न नहुने ? झनबढी मिल्नुस् ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका उम्मेदवारलाई भोट नहाले ‘पाप धुरीबाट कराउने’ भन्दै बिच्किएका कांग्रेस कार्यकर्तालाई दवाव दिए ।
पाँच दलीय गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने र आफ्नै चुनाव चिन्हमा भोट हाल्ने भन्दै केही कांग्रेसीहरुले अभियान चलाएको सन्दर्भमा उनले त्यसो गरे पाप लाग्ने टिप्पणी पनि गरे ।
‘आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने हो भने आत्मघाति हुन्छ, गबठन्धनलाई स्वीकार गरौं’,उनले भने, ‘यहाँ हसियाँ हठौडामा भोट हाल्नेले रुखमा र रुखमा भोट हाल्नेले हसिया हठौडामा र कलममा हाल्न गाह्रो भएको सुनेका छौँ,गठबन्धनले गर्दा सबैको चिन्ह स्वीकारेका हौँ ।
’नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गण्डकी प्रदेशका गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न आग्रह गरे। उनले गठबन्धन दल किन बनायौं भनेर जनतामाझ जाँदा बुझाउन आग्रह गरे । उनले भने, ‘विपक्षीले फैलाएको भ्रम चिर्ने गरी जनतामा जानुहोस्, गठबन्धन दलका नेता इमानदारीपूर्वक चुनावमा लागेर गठबन्धनका दललाई जिताउनुहोस् । ’
अध्यक्ष नेपालले अहिलेको गठबन्धन स्वाभाविक र प्राकृतिक रहेको बताउँदै यही गठबन्धन नै गणतन्त्रको रक्षा गर्ने मूल शक्ति भएको स्पष्ट पारे। विपक्षी गठबन्धनलाई गणतन्त्र, सङ्घीयता र लोकतन्त्र नपचेको अध्यक्ष नेपालको जिकिर पनि गरे ।





