नवलपुर/एमालेसँग केहीसिटमा गठबन्धन गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फेरिपनि एमाले, कांग्रेस, माओवादीले देशको बागडोर सम्हाले देश श्रीलंंकाको अवस्थामा पुग्ने टिप्पणी गरेका छन् ।
नवलपुरमा शनिबार सम्पन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लिड्देनले भने,‘म कुनैपनि राजनैतिक दललाई आलोचना गर्न चाहन्न । तर, तीन दशकदेखि नेपालको राजनीतिमा नेतृत्वगर्दै आएका तिनै दल तिनै नेतालाई फेरी पनि चुनाव जिताए यो देश बन्छ तपाईं भन्न सक्नुहुन्छ । कोही कांग्रेस, माओवादी एमालेका साथीहरुले भन्न सक्छ ? बन्दैन मात्रै होइन, देश झन् झन् ओरालो लाग्नेछ । देश श्रीलंका बन्नबाट कसैले रोक्न सक्नेछैन ।’
उनले अगाडी भने, ‘हिजो राजाको पालामा २९ अर्वमा रहेको राष्ट्रिय ऋण पाँचवर्ष अगाडी संघीयता कार्यान्वयन गर्नु बेलामा ८ खर्वमा पुगेछ । जव यो संघीयता कार्यान्वयन भो यो पाँच बर्षमा यो ऋण अरु १२ खर्ब बढेर अहिले २० खर्बमा पुगेको छ । ऋण काढेर जनप्रतिनिधि पाल्नुपर्ने, ऋण काडेर कर्मचारी पाल्नुपर्ने यो परम्परा रोकिएन भने देश श्रीलंका बन्नबाट कसले रोक्न सक्छ ?’





