बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकीमा प्रत्यक्ष मतपरिणाम : कांग्रेस हाफ, समाजवादी पत्तासाफ

गण्डकीमा प्रत्यक्ष मतपरिणाम : कांग्रेस हाफ, समाजवादी पत्तासाफ


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०७९, आइतबार

पोखरा/ स्याङजा २ (ख) को शनिबार साँझ सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसका महेश भट्टराइको विजयीसँगै गण्डकीमा कांग्रेसले प्रत्यक्षतर्फका ५० प्रतिशत सिट जित्न सफल भएको छ । लोकतान्त्रिक वाम गठबन्धनबाट २१ ठाउँमा उमेदवारी दिएको कांगे्रसले पर्वत (ख), कास्की १ (ख) र स्याङजा १ (ंख) मा भने पराजय व्योहोर्न पुग्यो । गठबन्धनबाट सबैभन्दा बढि लाभ कांग्रेसले लिएतापनि गठबन्धनका अन्य दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका धेरै उमेदवार भने पराजय व्योहोर्न बाध्य भए । नेकपा एकीकृत समाजवादीका उमेदवारले जित हासिल गर्न सकेनन । नवलपुर २ (ख) मा उमेदवारी दिएका समाजवादीका गोपाल खनालले पराजय व्योहोर्न पुगे ।

मनाङ (ख) मा युवा तथा खेलकुद मन्त्री दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित बन्न पुगे । १३ ठाउँमा उमेदवारी दिएको माओवादीले पाँचवटा मात्र सिट जित्न सफल रह्यो भने, १२ ठाउँमा एमालेले जितेको छ ।

एमालेले सबैभन्दा बढि माओवादीका ८, कांग्रेसका ३ र समाजवादीका १ जना उमेदवारलाई पराजित गरि १२ सिट जित्न सफल रह्यो । अघिल्लो निर्वाचनको तुलनामा प्रत्यक्षतर्फ एमालेले १७ सिट जितेको थियो । अहिले भने उसले पाँच सिट गुमाउन पुग्यो । गठबन्धनको बाबजुद प्रत्यक्षमा ९ सिट जितेको माओवादी ५ सिटमा खुम्चिन पुग्यो । अघिल्लो निर्वाचनमा ६ सिटमा खुम्चिएको कांग्रेसले भने अहिले तेब्बर बढि नतिजा हात पार्न सफल रह्यो ।

समानुपातिकतर्फको मतपरिणाम भने आइसकेको छैन । हालसम्म गणना भएको मतपरिणाम अनुसार एमालेले तीन लाख ६७ हजार ९८९ मत ल्याउँदै पहिलो दल बनेको छ । दोश्रो कांग्रेसले तीन लाख ४९ हजार ६२८, माओवादीले एक लाख १६ हजार ९४५ मत पाएको छ । समानुपातिकतर्फ अघिल्लो निर्वाचनको तुलनामा राप्रपाले झन्डै चार गुणा मत बढाएर ५९ हजार ४८३ मत पाएको छ ।

अघिल्लो पटक एमालेले १०, कांग्रेसले ९, माओवादीले ३, तत्कालीन नयाँशक्ति र जनमोर्चाले समान १÷१ सांसद समानुपातिकबाट जितेका थिए । यसपटक भने राप्रपाबाट सांसद आउने निश्चित हुँदा जनमोर्चा बाहिरिने भएको छ ।

प्रत्यक्षतर्फ निर्वाचित ३६ सांसदमध्ये प्रदेशसभामा नै दोहोरिने सांसदको संख्या भने चार मात्र रहेको छ । कास्की २ (ख) विन्दुकुमार थापा, मनाङ (ख) दीपक मनाङे, तनहुँ १ (ख) हरिबहादुर चुमान र नवलपुर १ (ख) रोशन गाहामगर मात्रै प्रदेशसभामा दोहोरिएका अनुहार हुन । कास्की १ (क) का खगराज अधिकारी प्रतिनिधीसभा र गोरखा २ (ख) का सुरेन्द्रराज पाण्डे भने राष्ट्रियसभाबाट प्रदेशमा आएका हुन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->