पोखरा/ मंसिर ४ को चुनाव सकिएलगत्तै सुशासनको वकालत गर्ने कांग्रेस उपसभापति धनराज गुरुङमाथि संगिन आरोप आइलाग्यो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले काग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने चापाकोट नगरपालिकाको चारवटा बुथ कब्जा गरिएको आरोप लगाउँदै पुनः मतदानको माग ग¥यो । एमाले सचिव तथा सो क्षेत्रबाट उम्मेदवारी दिएकी पद्मा अर्याल स्वयंले मृत्यु भएका व्यक्तिको नाममा समेत मत खसालिएको जिकिर गरिन् ।
निर्वाचन आयोगमा उजुरी प¥यो । देशैभर मतगणना जारी हुँदा स्याङ्जा क्षेत्र नम्बर २ को गणना रोकियो । सो क्षेत्रबाट संघीय सांसदमा प्रतिस्पर्धामा उत्रिएका धनराज गुरुङ आफैं मतगणनाको माग गर्दै वालिङमा रहेको निर्वाचन कार्यालय अगाडि धर्ना बसे । निर्वाचन आयोगको मंसिर १४ गतेको बैठकले बाजुरा र स्याङ्जा २ मा धाँधली नभएको ठहर गर्दै मतगणना गर्ने निर्णय ग¥यो । बाकस खोलियो । सुरुको गणनामा एमाले उम्मेदवार पद्मा अगाडि भए पनि बिस्तारै धनराजले अग्रता कायम गर्दै गए । अन्ततः सो क्षेत्रबाट धनराज संघीय सांसदमा चुनिए । जन्मथलोभन्दा फरक क्षेत्रबाट निर्वाचन क्षेत्रको चुनावमा होमिएका गुरुङले ५ हजार ६२७ मतान्तरसहित पद्मालाई पराजित गरे ।
कांग्रेसका गुरुङले ३१ हजार ४६६ मत प्राप्त गरे ।अर्याल आफ्नै कर्मभूमि वालिङ नगरपालिका १ मा १९२ मतले पछाडी परिन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याए । पाँच वर्ष पहिला नेकपा एमाले सचिव पद्माकुमारी अर्यालले काग्रेसका केन्द्रीय सदस्य एवं तत्कालीन उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्दै बनाएको विरासत पनि भत्कन पुग्यो ।
नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा तय गरेका धनराज कांग्रेसको राजनीतिमा निरन्तर क्रियाशिल छन् । नेपाल विद्यार्थी संघको तर्फबाट २०४५ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापतिका प्रत्यासी हुँदा धनराज झलक सुवेदीसँग पराजित भएका थिए । २०५३ सालमा उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति बने । तरुण दलको महासचिव हुँदै २०६४ सालमा उनी संविधानसभा सदस्य मनोनित भए । २०७० मा संविधानसभा सदस्य दोहोरिएका धनराज सार्वजनिक लेखा समितिमा समितिमा रहँदा भ्रष्टाचारविरुद्ध निर्मम बने । कांग्रेसको १२ औँ महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य बनेका धनराज १३ औँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्य त छानिए ।
तर, राजनीतिक यात्रामा उनीमाथि पनि निर्मम प्रहार भयो । २०७४ सालको आम निर्वाचनमा उनलाई प्रत्यक्ष चुनाव लड्ने त के कुरा? समानुपातिकको सूचीमा पनि राखिएन । तत्कालीन पर्यटनमन्त्रीको निधनपछि २०७५ साल मंसिरको उननिर्वाचनमा उनले कास्की क्षेत्र नम्बर २ बाट चुनाव लड्ने चाहना व्यक्त गरे । तर, यता आउन उनी आफैं हच्किए । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा विजयकुमार गच्छदारलाई २ मतले हराउँदै उपसभापति बनेका गुरुङ यो पटक आफैं टिकट बाँड्ने ठाउँमा थिए ।
उनले स्याङ्जा २ रोजे । संयोग कस्तो भने, कांग्रेस उपसभापतिमा उनीसँग पराजित विजय गच्छदारले संघीय सांसदमा पराजय व्यहोर्दा उनले भने एमालेकी शक्तिशाली सचिव पद्मा अर्याललाई हराए । सोही क्षेत्रबाट चुनाव जितेर केपी ओली नेतृत्वको सरकारमा भूमि सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी पद्मालाई हराएपछि अब उनको राजनीतिक यात्रा उकालो लागेको छ । पहिलोपटक उनी जनताबाट चुनिएर सांसद बनेका छन् ।
प्रदेशसभा ‘ख’ मा कांग्रेसकै महेश भट्टराई विजयी बने । भट्टराईले एमालेका बुद्धिमान श्रेष्ठलाई पराजित गरेका हुन् । भट्टराईले १८ हजार ८ सय ८ मत पाउँदा श्रेष्ठले १६ हजार ९ सय ९९ मत पाएका छन् । प्रदेशसभा ‘क’मा कांग्रेसका भोजराज अर्याल निर्वाचित भए । उनले एमालेका उम्मेदवार मोहनप्रसाद रेग्मीलाई २ हजार ७ सय ३० मतान्तरले पराजित गरेका हुन् ।





