पोखरा/ आइतबार बिहानै काठमाण्डौबाट पोखरा विमानस्थलमा अवतरण गर्दा कांग्रेसका प्रदेश सांसद सुरेन्द्रराज पाण्डे पार्टी निकटका नेता कार्यकर्ताको न्यानो स्वागत पाए । माला र खादाले ढाकिए । नयाँ प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढिरहँदा पाण्डेले उक्त स्वागत पाएका थिए । प्रदेशको सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेसले मुख्यमन्त्री पाउने चर्चा चलिरहँदा संसदीय दलको नेतामा पाण्डे पनि आकांक्षी थिए र सबैभन्दा बढी सम्भावना पनि उनकै थियो ।
गोरखा २ (ख) बाट चुनाव लड्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष तथा नेपालका ४४ औँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाण्डेलाई नै मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।
मुख्यमन्त्रीका आकांक्षी उनी पार्टीभित्रको संसदीय दलको निर्वाचनको माहोल मिलाउन पोखरा आएका थिए । पोखरा विमानस्थलमा ल्याण्ड हुँदै गर्दा बालुवाटारमा भने उनै प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘वान टु वान’ वार्ता भइरहेको थियो ।
तर, दिउँसो एकाएक वार्ता असफल भयो । राजनीतिक घटनाक्रमले अर्कै मोड लियो । प्रचण्ड प्रधानमन्त्री बने तर, एमालेसहितको गठबन्धनबाट ।प्रचण्ड एउटा गठबन्धन तोडेर अर्को गठबन्धनबाट प्रधानमन्त्री बन्दा मुख्यमन्त्री बन्ने आकांक्षा राखेका पाण्डेको च्याप्टर क्लोज हुन पुग्यो ।
आइतबार बिहान पत्रकार भेटघाट गर्दै पाण्डेले भने, ‘यो घटना मेरा लागि अनपेक्षित थिएन । तर, पोखराबाट काठमाण्डौ आउँदा प्लेन त ल्याण्ड भयो, तर राजनीति क्र्यास भयो । म सकुसल अवतरण भएँ, तर म आइपुग्दा राजनीति चाहिँ क्र्यास भयो ।’
अब, गण्डकीमा पनि सबैभन्दा ठूलो दल बनेर कांग्रेस प्रतिपक्षमा पुगेको छ । नयाँ समीकरणको आधार एमाले, माओवादी र राप्रपासहितको नयाँ गठबन्धनको सरकार बन्नेछ । नयाँ बन्ने सरकारलाई उनले गुण र दोषका आधारमा समर्थन गर्ने बताए ।‘जसरी राजनीतिक रुप बदलिएको छ, अब गण्डकीमा पनि एमाले नेतृत्वकै सरकार बन्छ होला, हामी प्रतिपक्षमा बसेर गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं’, उनले भने ।
राष्ट्रिय राजनीतिमा आइतबार देखिएको घटनाक्रमलाई उनले राजनीतिक दलको नेतृत्वमा नैतिकताको खडेरी परेको संकेत गरे । बदलिँदो राजनीतिक घटनाक्रमबारे चाहिँ उनले आफूले एकदुई दिन अगावै आभास पाइसकेको बताए । ‘जहाँबाट प्रचण्ड चुनाव उठेका थिए, त्यही क्षेत्रको प्रदेशमा म चुनाव लडेको थिएँ । प्रचण्डसँग र उनको सचिवालयमा निरन्तर कुराकानी भइरहन्थ्यो । पछिल्लो समय प्रचण्ड र उनी निकटका नेताहरुले गफगाफमा त्यो संकेत दिएका थिए, समग्रमा पार्टीका नेता र नेतृत्वको अनुशासनहीनताले यो परिणाम आयो’, उनले भने ।
हिजोको घटनाले राजनीतिमा विचार, सिद्धान्त र आदर्श स्खलित बनेको उनले टिप्पणी गरे । ‘नेपालको राजनीतिमा केही समयदेखि विचार सिद्धान्त, आदर्श स्खलित बन्दै गएको अवस्था छ । त्यसको कडी हिजोको घटना पनि हो’,उनले भने,‘हामीले संविधान बनायौँ, जुन संविधानमार्फत हामीले निर्वाचन प्रणाली अपनाएका छौँ, त्यो प्रणालीबाट एउटै मात्र पार्टीको स्पष्ट बहुमत आउने सम्भावना धेरै कम छ । त्यसलाई एउटा कोलिसन कल्चरमा अगाडि बढाउनुपर्ने थियो । त्यही अनुरुप चाहिँ यी घटनाहरु हिजोको दिनमा चुनावी तालमेल गठबन्धन भएका थिए ।’
गठबन्धनको औचित्यबारे अब टिप्पणी गर्न आवश्यक नरहेको उनले बताए । राजनीतिमा देखिएको नैतिकताको खडेरीका कारण यस्ता घटना बारम्बार दोहोरिने उनले बताए । ‘राजनीतिमा मूल्यमान्यता, नैतिकताको खडेरी पर्दै गएको छ । त्यसले गर्दा यी घटनाक्रमहरु दोहोरिने सम्भावनाहरु नेपाली राजनीतिमा रहिरहेको छ । एउटा बृहत्तर उद्धेश्यको लागि भन्दा पनि समग्र राजनीतिक दल र दलको नेतृत्व गरिरहेका केन्द्रिय व्यक्तित्वहरु ट्रयाक बाहिर गइरहेको राजनीतिलाई ट्रयाकमा ल्याउनुभन्दा पनि केवल आफ्नो व्यक्तिगत सत्ता स्वार्थका लागि मात्रै अगाडि बढेको देखिन्छ’ उनले भने ।
चुनावमा जनताले स्थापित दलहरुको विरुद्धमा कहिँ न कहिँ मनोभावना व्यक्त गरेको तर, त्यसलाई नेतृत्वले भुलेर व्यक्तिकेन्द्रीत स्वार्थमा लागेको उनको आरोप छ । ‘स्थापित दलको विकल्पमा जनताले कहिँ न कहीँ आफ्नो मनोभावना व्यक्त गर्न खोजेको देखिन्थ्यो । दलहरुप्रति देखिएको जुन दृष्टिकोण, र जस्तो किसिमको अभिमत व्यक्त गरेका छन । त्यसलाई हेरेर हिजोका घटनाहरु दोहोरिँदैनन, केवल आफ्नो व्यक्तिगत महत्वाकांक्षा र स्वार्थको लागि मात्रै नेताहरुले आफ्नो ध्यान केन्द्रीत गर्नुहुन्न भन्ने मलाई लागेको थियो’,उनले थपे,‘तर, हिजोको घटनाले केवल व्यक्तिगत आकांक्षा र पदका लागि मात्रै हामी रहेछौँ भन्ने पुष्टि गरेको छ ।’
नयाँ सरकारबारे चाहिँ तत्काल टिप्पणी गर्न उचित नहुने र संविधान मान्नेदेखि नमान्नेदेखि, राजा फाल्नेदेखि फिर्ता ल्याउनेसम्म एकैठाउँमा उभिएको आगामी दिनमा सरकार कसरी अगाडि बढ्छ भन्ने बारेमा हेर्न बाँकी रहेको उनले बताए ।
गण्डकीमा कांग्रेस संसदीय दलको निर्वाचन आगामी बुधबार छ । उक्त निर्वाचनमा सकेसम्म सर्वसम्मत रुपमा नेता चयन गरिने अन्यथा प्रजातान्त्रिक पद्धतिबाट निर्वाचन हुने उनले बताए ।
दलको नेतामा पाण्डेसहित कास्की २ (ख) बाट चुनाव जितेका विन्दकुमार थापा, नवलपुरका महेन्द्रध्वज जिसी र स्याङजाका भोजराज अर्याल र बागलुङका दीपेन्द्रबहादुर थापा आकांक्षी छन ।





