स्याङ्जा/सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यसबर्ष सुन्तला उत्पादन बृद्धि भएको छ । यसवर्ष स्याङ्जामा १ अर्ब १४ करोड बराबरको सुन्तला उत्पादन हुँदा गत बर्षभन्दा ३८ करोड ६८ लाखको सुन्तला बढी हो ।
गत वर्षको तुलनामा यसवर्ष स्याङ्जामा प्रतिहेक्टर ६.१ प्रतिशले धेरै सुन्तला उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकरण सुन्तला सुपरजोनका वरिष्ठ कृषि विकास अधिकृत माधब प्रसाद लम्सालले बताए । गतवर्ष प्रतिहेक्टर १०.३ मेट्रिकटन उत्पादन भएको थियो ।
यहाँ दुई हजार हेक्टरमा सुन्तला लगाइएकोमा एक हजार चार हेक्टरमा सुन्तला उत्पादन भैरहेको लम्सालले बताए । गत बर्षभन्दा यसवर्ष नौ हजार १२० मेट्रिकटन सुन्तला उत्पादन बढी भएको हो । गतबर्ष १३ हजार ८४० मेट उत्पादन भएको थियो ।
मनसुन राम्रो र असिना तथा औंसा किराको प्रकोप नदेखिँदा सुन्तला उत्पादन बढेको लम्सालले बताए । ५० बर्षबाट सुन्तला उत्पादनमा लागेका ६७ बर्षिय सुन्तला उत्पादक फणि नारायण अर्यालले आफुले जानेदेखीकै सबैभन्दा बढी सुन्तला फलेको अनुभव सुनाए ।
८० रोपनी क्षेत्रफलमा दुई हजारभन्दा बढी बोट लगाएका अर्यालले सुन्तलाका बोटले नै धान्न कठिन हुनेगरी अहिले अचाक्ली सुन्तला फलेको बताए । अर्याल जस्तै चार हजारभन्दा बढी साना ठूला सुन्तलाका बगैचा कृषकका यहाँ रहेको र ६÷७ वडाबाहेक जिल्लाभर सुन्तला खेती राम्रो हुने गरेको छ ।
उत्पादकत्व दर बढ्दा कृषकले सुन्तलाको मुल्य भने कम पाएका छन् । सुन्तलाको बजार मूल्य उच्च रहेपनि ४० देखि ६५ रुपैयाँ प्रतिकिलोमा बगैचाबाट कृषकले बिक्री गरेका छन् । यहाँ उत्पादित सुन्तलामध्ये किसानले १५ प्रतिशत आफैं उपभोग गर्दा ८५ प्रतिशत सुन्तला काठमाडौ, बुटवल, नारायणघाट र पोखरा बिक्री भैरहेका छन् ।
पुतलीबजार, वालिङ, भीरकोट र गल्याङ नगरपालिकासहित फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधीखोला र हरिनास गाउँपालिकाका सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् ।





