म्याग्दी/ आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दैउत्सवको रुपमा मनाउनेहरूको भिडमा बेनी नगरपालिकाका एक जनप्रतिनिधिले वडाभित्रका ज्येष्ठ नागरिकलाई हिँड्डुल गर्न सहज हुने छडी वितरण गरेका छन् । बेनी नगरपालिका–९ घतानका वडा अध्यक्ष चक्र केसीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा जेष्ठ नागरिकको समस्या सुन्ने र सेवासुविधाका बारेमा समेत जानकारी लिदैं ५० जना जेष्ठ नागरिकलाई छडी वितरण गरेका हुन् ।
कतिपय ठाउँमा आफै पुगेर र केही ठाउँमा सहयोगी ब्यक्तिमार्फत जेष्ठ नागरिकहरुलाई सहयोग गरेको वडा अध्यक्ष केसीको भनाई छ । जेष्ठ नागरिकलाई हिडडुल गर्न सहज होस भनेर सहयोग गरेको बताउँदै ज्येष्ठ नागरिकहरूका लागि एकीकृत सेवा प्रवाह गर्न सहज बनाउन प्रतिबद्ध रहेको अध्यक्ष केसीले बताए । २०७४ मा राष्ट्रिय माविमा गरीब तथा जेहेन्दार छात्रवृत्ति स्थापना, २०७५ मा बेनीको बालगृहका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण, २०७६ मा मजदुरसँग सहभोग गरी समानताको सन्देश दिनुभएको थियो । बि.स २०७७ मा गलेश्वर आश्रमका जेष्ठ नागरिकहरुलाई भोजन र २०७८ मा घतान स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गरेका थिए ।





