पोखरा / गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै २५ गते सोमबार दिउँसो ४ बजेभित्र मुख्यमन्त्री दाबी पेस गर्न दलहरुलाई आह्वान गरेको हो ।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम गण्डकी प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलको बहुमत नपुग्ने भएपछि सोही धाराको उपधारा २ बमोजिम सरकार गठनका लागि आह्रवान गरिएको हो ।
गण्डकी प्रदेशमा केन्द्रमा भएको सत्ता समीकरणअनुसार सरकार बन्ने स्रोतले जनाएको छ । ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि ३१ सदस्य चाहिन्छ । गण्डकीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने टुंगो लागेको छैन । हाल भएको गठबन्धनअनुसार एमाले र माओवादीले आ-आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गर्दै आएका छन् ।
केन्द्रीय गठबन्धन अनुसार गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सदस्य छन् । एकीकृत समाजवादीको एक सिट रहेको छ भने प्रदेशसभामा सबै भन्दा ठूलो दलको हैसियतमा कांग्रेससँग २७ सिट छ ।






