बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

ठुला दललाई अफाप, ‘गण्डकी’

ठुला दललाई अफाप, ‘गण्डकी’

प्रदेश प्रमुखले समय दिए, एमाले र माओवादीको आ–आफ्नै दाबी ।


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०७९, शनिबार

पोखरा/ २०७४ को प्रदेशसभा निर्वाचनमा देशभरि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन थियो । दुई ठूला कम्युनिष्ट दल मिल्दा देशैभरि कांग्रेसको अवस्था दयनीय बन्न पुग्यो । गण्डकी प्रदेशसभाका प्रत्यक्षतर्फका ३६ सिटमध्ये कांग्रेस ६ सिटमा खुम्चियो । प्रत्यक्षतर्फ १६.६७ प्रतिशतमा खुम्चिएको कांग्रेस समानुपातिकमा भने दोश्रो हुन पुग्यो । प्रदेशसभाका २४ समानुपातिक सिटमध्ये ९ सिट जित्दा कांग्रेस १५ सांसदसहित एक चौथाइमा खुम्चिन पुग्यो ।

त्यतिबेला एमालेले प्रत्यक्षमा १७ र समानुपातिमा १० सहित एक्लै २७ सिट जितेको थियो । वाम लहरसँगै देशभरिमा नै कम्युनिष्टको बहुमतको सरकार बन्दा गण्डकीको नेतृत्व एमालेका पृथ्वीसुब्बा गुरुङले गरे । २०७४ फागुन ४ गतेदेखि २०७८ जेठ २८ गतेसम्म सरकारको नेतृत्व गरेका गुरुङले कार्यकाल भने पूरा गर्न पाएनन । कारण, वाम गठबन्धनभित्र शक्तिसंघर्षको कलहदेखि पार्टी विभाजन र सर्वोच्च अदालतको
आदेशले वाम गठबन्धन टुट्यो । प्रदेश देखि संघसम्मका नेतृत्व फेरिए ।

एमालेलाई एक्लो बनाएर बनेको वाम लोकतान्त्रिक दल चुनावमा होमियो । कांग्रेस पहिलो दल बन्यो । गण्डकीमा पनि कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सहित २७ सिट जित्दै ठुलो दल बन्यो ।

तर, सरकार बनाउने बेलामा ऊ चाहिँ प्रतिपक्षीको बेन्चमा बस्न पुगेको छ । अन्यथा प्रदेश प्रमुखले सरकार गठनको लागि आह्वान गर्दा सबैभन्दा ठूलो दल मौन बस्नुपर्ने अवस्था आउने थिएन । यसको कारण पनि शक्तिसंघर्ष र नेतृत्वकै विवाद हो । त्यतिबेला एमालेलाई छाडेर कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले अहिले एमालेसँग नै गठबन्धन गरी प्रधानमन्त्री बनेको छ

संयोग नै मान्नुपर्छ, ०७४ मा २७ सिट जितेको एमालेले पूरै कार्यकाल सरकार चलाउन नपाइ प्रतिपक्षी बन्न पुगेको थियो भने अहिले २७ सिट जितेको कांग्रेस सुरुमा नै प्रतिपक्ष बन्न पुगेको छ । गण्डकीमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले दलहरुलाई गरेको आह्वानको समय २५ गते अपरान्ह ४ बजेसम्म छ । यो समयसीमाभित्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठन गर्न दलहरुलाई समय दिएका छन ।केन्द्रमाझैँ यहाँ पनि एमाले, माओवादीसहितको गठबन्धनको सरकार बन्ने निश्चित छ । सबैभन्दा ठूलो दल भएरपनि संसदमा प्रतिपक्षमा पुगेको कांग्रेस प्रदेशमा पनि प्रतिपक्षमा नै बस्नेछ ।

६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनको लागि ३१ सांसदको समर्थन चाहिन्छ । यहाँ कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २ र स्वतन्त्रबाट निर्वाचित भई नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एक सांसद छन । केन्द्रमाझैँ यहाँ पनि एमाले, माओवादी र राप्रपाका सांसद जोड्दा ३२ पुग्न आउँछ । जुन, यहाँ सरकार गठनका लागि पर्याप्त संख्या हो ।केन्द्रमा प्रदेशको भागबण्डा गर्दा गण्डकीको नेतृत्व एमालेले पाउने शीर्ष नेताहरुले बताएका छन । तर, यहाँ तेश्रो दल माओवादी केन्द्रले पनि आफ्नो दाबी गर्न भने छाडेको छैन । अर्कातर्फ केन्द्रमा पनि प्याकेजको सहमति गर्ने भनिएतापनि त्यसको टुंगो नलाग्दा सरकारको नेतृत्वमा दाबी गरिरहेका दलहरु पनि आफै अन्योलमा छन । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुभन्दा एकदिन अगाडि नै प्रदेश प्रमुखले यहाँ सरकार गठन आह्वान गरेपछि समय कम भएको भनेर गठबन्धन दलले असन्तुष्टि पनि नजनाएका होइनन ।

तर, तोकिएकै समयसीमाभित्र बहुमत हस्ताक्षर लगिने माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।‘तोकिएको समयभित्रै बहुमत हस्ताक्षर लगिहाल्छौँ, अहिल्यै हतार छैन’,उनले भने ।तर, प्याकेजको सहमति भनेर केन्द्रबाटै टुंगो नलागेका कारण मुख्यमन्त्रीमा आफ्नो पनि दाबी रहेको उनले बताए ।

दोश्रो ठूलो दल एमालेले संसदीय दलको नेतामा खगराज अधिकारीलाई चुनेको छ । चुनावकै समयमा एमालेले खगराजलाई नै भावी मुख्यमन्त्रीको रुपमा अगाडि सारेको थियो । त्यसकारण यहाँ खगराज नै मुख्यमन्त्री हुने लगभग पक्का भइसकेको छ । एमालेले यहाँ सभामुख माओवादीलाई दिएर नेतृत्व भने आफै लिने तयारीमा छ । एमाले संसदीय दलका नेता अधिकारीले भने, ‘सरकार गठन भएको थाहा पायौँ, आवश्यक परामर्शमा छौँ, समयभित्र नै हामीले आफ्नो दाबा गर्छौँ ।’उनले मुलुक अस्थिरताको भूमिकामा नपरोस र एउटा निर्णायक ठाउँमा जान सकोस भन्ने नै एमालेको इच्छा रहेको बताए ।‘सरकार हाम्रो प्राथमिकतामा थिएन, तर सरकार नेतृत्व गर्ने ठाउँमा आएका छौँ । सरकार बनाउने क्रममा सबैसँग सल्लाह गरेर उचित सम्मान, मर्यादा र निष्कर्ष निकालेर नै हामी जान्छौँ’,अधिकारीले भने, ‘ंसदमा हामी सँगै छौँ, कांग्रेससँग पनि छलफल गरेका छौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->