बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

गण्डकीमा संकलन गरियो ३२ सांसदको हस्ताक्षर, मुख्यमन्त्री को ?

गण्डकीमा संकलन गरियो ३२ सांसदको हस्ताक्षर, मुख्यमन्त्री को ?


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०७९, आइतबार

पोखरा / गण्डकी प्रदेशमा सत्ता गठबन्धनका ३२ जना सांसदको हस्ताक्षर संकलन गरिएको छ । नेकपा (एमाले)का सांसद रोशनबहादुर गाहाले एमालेका २२, माओवादी केन्द्रका आठ र राप्रपाका दुई सांसदको हस्ताक्षर गराइसकिएको जानकारी दिए ।

अब सोमबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरिनेछ । त्यसअघि गठबन्धनका नेताहरूको बैठक बस्नेछ । ‘भोलि बिहान १० बजेसम्म हाम्रो संसदीय दलको बैठक सकिन्छ । ११ बजेपछि दलका नेताहरूको बैठक हुन्छ । त्यसपछि हामीले बहुमत हस्ताक्षर लिएर समयसीमाभित्रै प्रदेश प्रमुखकहाँ जान्छौँ,’ गाहाले भने ।

एमालेले गण्डकीको संसदीय दलको नेतामा खगराज अधिकारीलाई चयन गरेको छ । मुख्यमन्त्रीमा उनको सम्भावना बढी छ । गाहाले मुख्यमन्त्री आफ्नो पार्टीका नेता अधिकारी नै हुने दावी गरे । तर, माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ ।  केन्द्रमा झैँ पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान माओवादीको छ ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान प्रदेश १ एमालेले लिएकाले गण्डकीमा माओवादीको सम्भावना थप बढेको दाबी गर्छन् । ‘प्रदेश नम्बर १ एमालेले पाइसक्यो । अब मधेस मधेसवादी दलले लिने होला । बाँकी पाँचवटामा त हाम्रो सम्भावना बढेर गयो,’ उनले भने ।

प्रदेश सभाको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका चुमान यसपटक सरकारको नेतृत्व गर्ने आफ्नो पालो रहेको दाबी गर्छन् । प्रदेश १ मा आइतबार नियुक्त भएका मुख्यमन्त्री कार्की र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी चुमानसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए ।

‘म, हिक्मत कार्की, कुलप्रसाद केसी सँगै आन्तरिक मामिला तथा कानुनमन्त्री भएका हौँ । उहाँहरू दुईजना मुख्यमन्त्री भइसक्नुभयो । अब मेरो पालो हो,’ उनले भने । मुख्यमन्त्री नपाएपनि दोस्रो वरीयताको मन्त्रालय लिएर सरकारमा भने सहभागी हुने उनले बताए ।

दुई सांसद रहेको राप्रपा पनि सरकारमा जाने तयारीमा नै छ । राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ राप्रपाबाट सरकारमा सहभागी हुनेछन् । ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन ३१ सांसदको साथ चाहिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->