
पोखरा / गण्डकी प्रदेश सरकारको मंगलबार बसेको दोस्रो मन्त्रिपरिषद्को वैठकमा विश्वासको मत लिने विषयमा छलफल गरिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ मा बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेस गर्ने निर्णय भएको बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले बताए ।
‘हामीले प्रदेशसभासमक्ष प्रस्ताव पेस गर्ने हो बाँकी निर्णय प्रदेशसभाबाटै हुन्छ,’ उनले भने । विश्वासको मत लिने समय एक महिना भए पनि छिट्टै नै विश्वासको मत लिने तयारीमा सरकार रहेको छ । ३३ सांसदको समर्थनमा सोमबार अधिकारी मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार नै चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । सोमबार मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै ६ वटा निर्णय गरिएका थिए ।





