पोखरा / गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश संरचनालाई कम प्राथमिकतामा राखेर संघबाट अधिकार नदिइएको भन्दै असन्तुष्टि जनाएका छन् । एमाले उपमहासचिव तथा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकै शैलीमा अधिकारीले पनि संघ सरकारप्रति गुनासो पोखेका छन् ।
पोखरा महानगरपालिकाको १२ औं नगरसभालाई मंगलबार सम्बोधन गर्दै अधिकारीले प्रदेशलाई कम प्राथमिकता दिइएको बताए ।
केन्द्रमा बस्नेले केन्द्रकै कुरा ठूलो देख्ने र अधिकार तल लैजाने कुरामा कञ्जुस्याइँ गर्ने गरेको उनले गुनासो गरेका थिए । संघीय निजामती ऐनको निर्माण नभएकाले निजामती प्रशासन व्यवस्थित गर्न नसकिएको उनको भनाइ थियो ।
‘स्थानीय तह सञ्चालन सम्बन्धी प्रदेशले बनाएका कतिपय ऐनहरू प्रभावकारी भए भएनन्, त्यसको समीक्षा गर्नु नै छ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्यका धेरै अधिकारी र दायित्व स्थानीय तहसँग छ । यसैबाट सामाजिक उन्नयनमा फड्को मार्नुपर्छ । पुल, बाटोजस्ता पूर्वाधार बन्नु मात्रै विकास हो भन्नुभन्दा पनि मानिसको जीवनस्तरमा कत्तिको सुधार आयो, प्रतिव्यक्ति आय कति बढ्यो, साक्षरता दर कति बढ्यो भन्ने जस्ता मानव विकास सूचकांकमा ख्याल पुर्याउनु पर्छ ।’
उनले प्रदेश सरकार माइला छोराजस्तो भएको पनि बताए। ‘प्रदेश माइला छोरा भयो। कान्छो छोरा स्थानीय तह भयो, जेठा माथि (संघ) भयो। पितृकार्यमा माइला छोराको जिम्मेवारी त्यति हुँदैन, जति जेठा छोरा र कान्छा छोराको हुन्छ’, उनले भने, ‘केन्द्रमा जाँदा केन्द्रकै कुरा ठूलो। अधिकारको कुरामा संघीय कानून ठूलो। अनि तपाईंको स्थानीय तहमा तपाईंहरु नै ठूलो।’





