स्याङ्जा / स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट गण्डकी प्रदेश सरकारमा दुईजना मन्त्री बनेका छन् । गण्डकीमा मुख्यमन्त्रीसहित चारजनाको मन्त्रिपरिषद् गठन हुँदा पुतलीबजार वडा नं १ की सीताकुमारी सुन्दास ५ का पञ्चराम गुरुङ विना विभागीयमन्त्री बनेका हुन् ।
सुन्दास एमालेबाट प्रत्यक्ष निर्वाचित तथा र गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट समानुपातिकबाट सांसद बनेका हुन् । ठुलाडिहीमा जन्मेकी सुन्दास सानै उमेरमा आमाको प्रेरणामा विद्यार्थी राजनीतिमा होमिएकी थिइन् । विद्यार्थी, महिला संघ, जनसांस्कृतिक मंच, जातीय मुक्ति समाज, पार्टी तल्लो तह हँुदै एमालेको नवांै र दशौं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेकी थिइन् ।
२०७४ सालमा जिल्ला समन्वय समितिको पहिलो महिला प्रमुख भएकी सुन्दास गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा क्षेत्र नं ‘१ क’बाट जनयुद्धकी कमाण्डर अमृता थापा मगरलाई पराजित गर्दै प्रदेश सांसद बनेकी थिइन् ।एक हजार ४२४ मतले थापा मगरलाई पराजित गर्दा उनले प्रत्यक्ष निर्वाचित हुने देशकी एममात्र दलित महिलाको इतिहास पनि बनाइन् । छोरीलाई मन्त्री भएको हेर्ने आमाको सपना पूरा भएपनि आमालाई नै मन्त्री भएको देखाउन नपाउँदा भने दुःख लागेको बताइन् । मन्त्री सुन्दासकी आमा चित्रकुमारी सुन्दासको मंसिर ४ गते निर्वाचनकै दिनमा ९० वर्षको उमेरमा निधन भएको थियो ।
विद्यार्थीमा कम्युनिष्ट राजनीति गरेका मन्त्री पञ्चराम वैदेशिक रोजगारीबाट फर्केसँगै राप्रपाको राजनीतिमा होमिएका थिए । १९ वर्ष वैदेशिक रोजगारीमा रहेका गुरुङ दश वर्ष पहिला राप्रपामा तत्कालीन महामन्त्री स्वर्गीय चन्द्रबहादुर गुरुङको प्रेरणमा राजनीतिमा सक्रिय भएका थिए । उनी एक वर्ष पहिला गण्डकी राप्रपा गण्डकी प्रदेश अध्यक्ष बनेका बनेका थिए ।
गण्डकीमा सरकार निर्माणको लागि २ सदस्य भएको राप्रपाको सहयोग अपरिहार्य भएसँगै उनको मन्त्री बन्ने ढोका खुलेको हो । राजतन्त्र हुँदा नेपालीको स्वाभिमान विदेशमा राम्रो भएको बताउदै मन्त्री गुरुङले गणतन्त्र आएसँगै विदेशमा नेपाली कामदारको स्वाभिमान गिरेको जिकिर गरे । उनका पिता टोपबहादुर गुरुङ एमालेबाट वडाध्यक्ष भइसकेका व्यक्ति हुन् ।





