गोरखा / पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा हरेक दिन सूर्योदय र सूर्यास्तमा नेपाली सेनाले ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यको थालनी गरेको छ ।
यसअघि तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीका दिन पुस २७ गते हुने ‘राष्ट्रनिर्माता सलामी’ गोरखामा भने अब हरेक दिन अर्पण गर्ने गरी सुरु गरिएको हो ।
नेपाल राष्ट्रको गैरवशाली इतिहास र राष्ट्रिय एकीकरण अभियानलाई जनमानसमा दीर्घकालीन रुपमा जीवन्त राख्न तथा पृथ्वीनारायण शाहको उचित सम्मान दिने उद्देश्यले सलामी कार्यक्रमको थालनी गरिएको नेपाली सेनाले जनाएको छ ।
‘पोखरीथोक ब्यारेकबाट पुग्ने टोलिले हरेक दिन परेड प्रदर्शन र सलामी अर्पण गर्नेछ, यस कार्यको आजबाटै सुभारम्भ भयो,’ नेपाली सेनाको रिपुमर्दन गणका गणपती हेमराज विष्टले भने । गोरखा दरबारको पश्चिम इलाकाबाट दुईवटा विगुलमार्फत् विजय ध्वनी बजाउने कार्यक्रम को शुभारम्भ गरिएको हो । इतिहासको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रनिर्माता सलामीको अवधारणा ल्याएको नेपाली सेनाको रिपुमर्दन गणका गणपती हेमराज विष्टले बताए ।
सलामी अर्पण कार्यको थालनीका लागि गोरखा नगरपालिका-६ स्थित ठूलो आँगनमा पृथ्वीनारायण शाहको ७ फिट ३ इन्च उचाइको पूर्णकदलको सालिक निर्माण गरिएको छ ।
सालिकसँगै नेपालको नक्सा अंकित मनोग्राम र नेपालको झण्डा राखिएको छ । पृथ्वीजयन्तीको अवसरमा बुधबार सालिकको प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गरे । सोही अवसरमा ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यक्रमको पनि शुभारम्भ गरिएको छ । राष्ट्रिय झण्डाको झण्डोत्तोलन र मनोग्रामको उद्घाटनसमेत सोही अवसरमा भएको छ ।
सालिक, मनोग्राम र नेपालको झण्डा स्थापनाका लागि २१ लाख खर्च भएको गोरखा नगरपालिकाले जनाएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको अगुवाइमा सालिक निर्माण सम्पन्न भएको हो ।
ठूलो आँगनमा शार्दुल जंग गुल्मबाट नफ्री ११ को फौजले अब हरेक दिन ऐतिहासिक पोसाक तथा हातहतियार सजिएर दैनिक परेट प्रदर्शन गर्नेछ । पृथ्वीनारायण शाहकालीन सेनाको झल्को दिने गरी कालो दौरसुरुवाल र परम्परागत हातहतियारमा सजिएका नेपाली सेनाले दैनिक सलामी अर्पणसँगै परेड प्रदर्शनी हुने छ ।





