पोखरा / गण्डकी प्रदेशसभामा सभामुखको निर्वाचन पुस ३० गते शनिबार हुने भएको छ । प्रदेशसभामा बिहीबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन मिति तोकेको बिना विभागीयमन्त्री हरिबहादुर चुमानले जानकारी दिए । उनी माओवादी केन्द्र संसदीय दलका नेतासमेत हुन ।
भागबण्डामा यहाँ एमालेले मुख्यमन्त्री पाएपछि माओवादीले सभामुख पाएको छ । माओवादीबाट गोरखा १ (क) बाट निर्वाचित कृष्ण धिताल सभामुखको उम्मेदवार बन्नेछन । एमालेसहित माओवादी र राप्रपाको गठबन्धनका कारण धिताल नै सभामुखमा विजयी हुने पक्कापक्की जस्तै छ ।
माओवादी केन्द्रीय सदस्यसमेत रहेका चुमानले नै सभामुखमा कृष्ण धिताललाई अगाडि बढाउने जानकारी दिए । संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।
संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एकजना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।
तर, प्रदेशसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रदेश सभामुख वा प्रदेश उपसभामुख हुन बाधा नपर्ने व्यवस्था छ ।प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ ।
प्रदेशसभा नियमावलीको नियम ७ को उपनियम (१) मा सभामुखको निर्वाचन संविधानको धारा १८२ को परिधिभित्र रहने गरी तोकिएको दिनमा हुनेछ र त्यसको सूचना सचिवले प्रकाशन गर्ने व्यवस्था छ ।
प्रदेशसभा नियमावलीको नियम ७ को उपनियम (२) मा उपनियम (१) बमोजिम प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा एक जना सदस्यको समर्थनसहित अनुसूची १ बमोजिमको ढाँचामा सोको सूचना सचिवलाई दिनुपर्ने व्यवस्था छ ।
यस्तै, उपसभामुखको निर्वाचन भने माघ २ गते हुने मन्त्री चुमानले जानकारी दिए । सभामुख माओवादीले पाएपछि उपसभामुख भने एमालेले पाउने सम्भावना छ ।





