बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

गण्डकीमा गठबन्धनका उम्मेदवार धिताल, कांग्रेसको जिम्मा दल नेतालाई

गण्डकीमा गठबन्धनका उम्मेदवार धिताल, कांग्रेसको जिम्मा दल नेतालाई


  • ढोरपाटन संवाददाता
  • पुष ३० २०७९, शनिबार

पोखरा/ शनिबार हुने सभामुखको निर्वाचनको लागि गण्डकीमा एमालेसहितको गठबन्धनले माओवादी केन्द्रका उम्मेदवार कृष्ण धिताललाई अगाडि सारेको छ । उनी सत्तारुढ दल एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनको साझा उमेदवार हुन ।

निर्विरोध बनेका मनाङ (ख) का स्वतन्त्र सांसद (पछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका) राजीव गुरुङ (दीपक मनाङे) ले पनि धिताललाई नै मत दिने जनाएका छन । मनाङेले सरकार बन्ने बेलामा एमालेका खगराज अधिकारीलाई समर्थन गरेतापनि शुक्रबार विश्वासको मत भने दिएनन, उनी अनुपस्थित रहे ।

यता, कांग्रेसले भने सभामुखको उम्मेदवारको टुंगो लगाएको छैन । कांग्रेसका सांसद डिल्लीराम सुवेदीका अनुसार कांग्रेसबाट सभामुखको उमेदवार छान्नको लागि संसदीय दलको बैठकले नेतालाई जिम्मेवारी दिएको छ । शनिबार बिहानमात्रै कांग्रेसबाट उमेदवारको टुंगो लाग्ने उनले जानकारी दिए ।सत्तारूढ गठबन्धनबाट उमेदवार बनेका धिताल गोरखा १ (क) बाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित भएका हुन ।

माओवादीका संसदीय दलका नेता एवम् प्रदेश सरकारका बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले दलको बैठकले सर्वसम्मत उम्मेदवार तय गरेको जानकारी दिए । एमाले संसदीय दलका प्रमुख सचेतक रोशनबहादुर गाहामगरले पनि एलायन्सको सरकार बनेका कारण सभामुख पनि एलायन्सबाटै नै चुनिने जानकारी दिए । सत्ता गठबन्धनका साझा उमेदवारलाई नै सभामुखमा स्विकारेर अगाडि बढिने उनले जानकारी दिए । गठबन्धनको मतसंख्या हेर्दा सभामुखमा धिताल पक्कापक्की जस्तै छन । एमालेका २१ (एकजना सभाध्यक्ष), माओवादी केन्द्रका ८, राप्रपाका २ र मनाङे १ गरी सत्ता गठबन्धनसँग ३२ मत छ । सभामुख छानिनको लागि बहुमत पु¥याउन ३१ सांसदको समर्थन चाहिन्छ ।

यता, कांग्रेससँग भने २७ सांसद छन । संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।तर, प्रदेशसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रदेश सभामुख वा प्रदेश उपसभामुख हुन बाधा नपर्ने व्यवस्था छ । प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ । प्रदेशसभा नियमावलीको नियम ७ को उपनियम (१) मा सभामुखको निर्वाचन संविधानको धारा १८२ को परिधिभित्र रहने गरी तोकिएको दिनमा हुनेछ र त्यसको सूचना सचिवले प्रकाशन गर्ने व्यवस्था छ । प्रदेशसभा नियमावलीको नियम ७ को उपनियम (२) मा उपनियम (१) बमोजिम प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा एक जना सदस्यको समर्थनसहित अनुसूची १ बमोजिमको ढाँचामा सोको सूचना सचिवलाई दिनुपर्ने व्यवस्था छ ।प्रदेशसभा सचिवालयले शनिबार ३ बजे हुने सभामुखको निर्वाचनको लागि शुक्रबार नै निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । ११ बजे प्रस्तावको सूचना दर्ता गर्ने, १ः३० बजे उमेदवारीका सूचना प्रकाशन गर्ने र ३ बजे निर्णयार्थ पेश गर्ने कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->