पोखरा / गण्डकी प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । धिताललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाबाट बहुमतबाट पारित भएसँगै उनी सभामुखमा निर्वाचित भएका हुन् ।
प्रस्तावमाथि मतदान हुँदा पक्षमा ३२ र विपक्षमा २६ मत परेको छ । प्रदेश सभा बैठकमा ५८ जना सांसद उपस्थित थिए । सभामुखमा धिताललाई फणिन्द्र देवकोटाले प्रस्ताव राखेका थिए भने एमालेका प्रमुख सचेतक रोशनबहादुर गाहा मगरले समर्थन गरेका थिए ।
६० सदस्यीय प्रदेश सभामा सभाको अध्यक्षता गरेका कारण सभाध्यक्ष मित्रलाल बस्यालले मतदान गरेन भने कांगेसका एक जना सांसद अनुपस्थित रहे । मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिएका राजिव गुरुङ (दिपक मनाङे) ले सभामुखमा गठबन्धनका उम्मेदवार धिताललाई नै मतदान गरे ।

गोरखा भिमसेन गाउँपालिका-२ का धिताल निर्बाचन क्षेत्र प्रदेश सभा १ को (क) बाट निर्वाचित भएका हुन्। धिताल संविधानको धारा १८२ र प्रदेशसभा नियमावली ७ अनुसार सभामुखमा पदमा निर्वाचित भएका हुन् ।
प्रदेशसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बसेको थियो ।
सोही मिति अनुसार माघ २ गते १५ दिन पुग्छ । ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका २२, राप्रपाका २, स्वतन्त्र सांसद र प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको कांग्रेसका २७ सांसद रहेका छन् ।





