म्याग्दी / आफ्नो परिवारलाई भेटेर कार्यालय फर्किदै गरेका कृषी ज्ञान केन्द्र बेनीमा कार्यरत अधिकृत मोहन प्रकाश श्रेष्ठ (प्रकाश) बाटोमै अस्ताएका छन् । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाएका श्रेष्ठ कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत हुन्।
कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलका अनुसार ३४ वर्षीय श्रेष्ठ परिवार भेटेर कार्यालय फर्कदै थिए। सोमबार बिहान श्रेष्ठको शवको पहिचान भएको सिग्देलले बताए।
‘यात्रुको विवरण र सम्पर्क नम्बर मिलेको थियो,’ उनले भने ‘साथमा रहेका कागजात र शवको पहिचान भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको शव परीक्षणको पर्खाइमा छौँ।’
नवलपुर स्थायी ठेगाना भएका श्रेष्ठ गत असोजमा सरुवा भएर म्याग्दी आएका थिए। ०७४ मा निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ म्याग्दी आउनुअघि नवलपुरमा कार्यरत थिए।
परिवारका सदस्य र साथीभाइले श्रेष्ठलाई प्रकाश भनेर चिन्दथे। उनले प्रकाश श्रेष्ठको नाममा जहाजको टिकट काटेका थिए। काठमाडौंमा बस्दै आएका परिवारका सदस्यलाई भेट्न श्रेष्ठ बिहीबार बिदा लिएर बेनीबाट गएका थिए।
‘लगातार बिदा परेकाले घरपरिवारलाई भेट्न काठमाडौ जानुभएको थियो,’ सिग्देलले भने ‘फर्केपछि अनुदानका लागि परेका आवेदनको फिल्ड भेरिफिकेसनमा जाने कार्यक्रम बनाएका थियौँ। दुर्घटनामा परेको खबर पाएपछि कार्यालयका स्टाफ पोखरामा आएका छौँ।’
श्रेष्ठकी श्रीमति, ११ महिनाको छोरा, बुवा र आमा छन्। कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामसुन्दर कुर्मीले असल राष्ट्रसेवक गुमाउनुपर्दा दुखित र स्तब्ध बनेको बताए। श्रेष्ठलाई उनका सहकर्मी मिलनसार, सहयोगी र इमान्दार कर्मचारीको रुपमा स्मरण गर्दछन्।





