बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बन्द बिद्यालय खुलेपछि…

बन्द बिद्यालय खुलेपछि…


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७९, सोमबार

बागलुङ/ बन्द भएको बिद्यालयमा बिद्यार्थी जुटाएर पुनः संचालनमा ल्याइएको छ । बागलुङ नगरपालिका–१२ को अमलाचौरस्थित कृष्ण प्राबि संचालनमा आएको हो ।

बिद्यार्थी अभावले नजिकको बिद्यालयमा मर्ज गर्ने नगरपालिकाको निर्णय थियो । अहिले विद्यालयमा १८ जना बालबालिका पुगेपछि कक्षा २ सम्म संचालनमा ल्याइएको प्रअ भक्तबहादुर बिकले बताए । यसअघि यो बिद्यालय नजिकको बुद्धिदात्री प्राविमा गाभिएको थियो ।

दलीत समुदायका बालबालिका रहेको यो बिद्यालयको आफ्नै भवन र केही चौरसमेत छ । ‘गाभिएको बिद्यालयमा पठाउन साना नानीलाई समस्या भएकोले यहीं संचालन गर्ने योजना बनायौं’ बिकले भने, ‘अब नियमित पढाइ संचालन गर्नेगरी योजना समेत बनाएका छौं ।’ २०७५ सालको जेठमा यो बिद्यालय गाभिएको थियो । भएको भौतिक संरचना पनि ध्वस्त हुने भएकोले अभिभावकले पनि बिद्यालय चलाउन पहल गरेपछि संचालनमा आएको हो ।

यहाँ २ जना निजी श्रोतका शिक्षक र स्थायी दरबन्दीका बिक आएपछि कक्षा संचालन भएको हो । बिद्यालय संचालनमा आउन थालेपछि सरसफाइको काम पनि शुरु भएको छ । सरसफाइ गरेपछि पारिलो घाममा बसेर बालबालिका पढ्न पाएको शिक्षक सीता बिकले बताइन् । स्थानीयले पनि दलीत परिवारका बालबालिका पढ्ने बिद्यालयलाई व्यवस्थापकीय सहयोगका लागि नगरपालिकामा माग गरेका छन् ।

बिद्यालयको अनुगमनमा पुगेका नगर उपप्रमुख राजु खड्काले नियमित बालबालिका आउने वातावरण भएमा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न सकिने बताए । ‘हामीले समस्या भएका स्थानमा समाधान गर्ने हो, समस्या थप्ने होइन, त्यसैले बालबालिकाको हितमा साथ दिन्छौं’ खड्काले भने, ‘शिक्षाभन्दा ठूलो केही होइन, यी बालबालिकालाई दुःख दिने पक्षमा छैनौं ।’ मर्ज भएको बिद्यालय प्रकृयागत रुपमा खुलाएर पठनपाठन शुरु भएकोले आवस्यक सहयोग दिनुपर्ने उनले बताए ।

अभिभावकले पनि बालबालिकाको लागि खेल सामाग्री, शिक्षण सिकाइ सामाग्री, बालबालिकालाई छात्रवृत्ति लगायतको व्यवस्थापन गरेर शिक्षाको गुणस्तरसमेत बढाउनु पर्ने माग गरेका छन् । ‘नजिकमा बालबालिका पढाउन पाए समयको बचत हुन्छ, बालबालिकाले रमाएर सिक्न पाउँछन्’ स्थानीय लक्ष्मी सुनारले भनिन्, ‘सडक सुबिधा र चौर पनि भएकोले बिद्यालय चलाउनै पर्छ ।’ गत जेठबाट शुरु भएको यो बिद्यालयमा आगामी बर्ष बालबालिका पनि बढ्ने उनले विश्वास व्यक्त गरिन् ।

यसअघि बन्द भएका कतिपय बिद्यालयको भौतिक संरचना ध्वस्त भएका छन् । प्रयोगबिहिन भएका भवनलाई पनि नगरपालिकाले संरक्षण गर्नुपर्ने आबाज उठ्ने गरेको छ । २०७५ सालमा बालबालिका नभएको अबस्थाका बिद्यालयहरु गाभिएका थिए । केहीमा अहिले पनि शुन्य बालबालिकाको अबस्था छ । एकादुइ बालबालिका राखेर पढाउन नमिल्ने भएपछि गाभिएको स्थानमा भवनहरु जीर्ण भैरहेका छन् ।

यसअघि गलकोटस्थित वडा नंं ७ को प्रगती प्राविमा बालबालिका नभएको भन्दै मर्ज गरिएकोमा अभिभावकको मेहेनतबाट पुनः संचालनमा आएको छ । संचालनमा आएपछि यो बिद्यालयमा १ सय बढी बिद्यार्थी पुगेका छन् । व्यवस्थापन समिति र अभिभावक मिलेर मर्ज गरिएको स्थानको बिद्यालय भन्दा पनि अब्बल बनाउन शिक्षण सिकाइ क्रियाकलाप चुस्त बनाईएको अध्यक्ष थम्मन थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->