शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रभु हेलिकोप्टरका पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ

प्रभु हेलिकोप्टरका पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ १० २०७९, मंगलबार
स्याङ्जाको वालिङमा अवतरण गरेको प्रभुको हेलिकोप्टर। फाईल तस्वीर ।

स्याङ्जा / प्रभु हेलिकोप्टरका पाइलटमाथि कुटपिट गर्ने ६ जना पक्राउ परेका छन्। स्याङ्जा प्रहरीले पाइलट रानेश डंगोलमाथि कुटपिट गर्नेहरूलाई सोमबार बेलुका पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वालिङ नगरपालिका-९ का यमबहादुर गुरुङ र सोही नगरपालिका-८ का सुरेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। प्रहरीले हेलिकोप्टर चार्टर्ड गर्ने चार जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा वालिङ नगरपालिका-९ का विनोद गैरे, सुशील गिरी, उज्वल थापा र खिमबहादुर राना रहेका छन्।

उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजिवबहादुर बस्नेतले पाइलटमाथि कुटपिट गर्नेहरूलाई पक्राउ गरेको बताए। ‘पक्राउ परेकाहरूबारे हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

गत बिहीबार उनीहरूले पोखराबाट प्रभुको हेलिकोप्टर चार्टर्ड गरी वालिङ लगेका थिए। वालिङ फुटबल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेकै अवस्थामा हेलिकोप्टर अवतरण गराएपछि पाइलटमाथि कुटपिट भएको थियो।

पक्राउ परेका उनीहरूलाई प्रहरीले मंगलबार जिल्ला अदालतमा पेस गरेको छ। अदालतले प्रक्राउ परेकाहरूको अनुसन्धान गर्नका लागि प्रहरीलाई दस दिनको समय दिएको छ।

घटनापछि पाइलट डंगोलले जिल्ला प्रहरी कार्यालय वालिङमा जाहेरी दर्ता गराएका थिए। उनले विगत ८ वर्षदेखि प्रभु हेलिकोप्टर कम्पनीमा अपरेशन डिरेक्टर, चिफ पाइलट र लाइन पाइलटको रूपमा पोखरामा कार्यरत रहेको र गत ५ माघमा स्याङ्जाको वालिङ बजारमा फ्लाइट लिएर जानुपर्ने सूचना र अनुमति पाएको जाहेरीमा उल्लेख गरेका छन्।

फ्लाइटमा सवार विनोद गैरै, उज्वल थापा, सुशील गिरी र खिम बहादुर रानाले आफूहरू आयोजकमध्येकै भएको भन्दै जबर्जस्ती खेल मैदानमा अवतरण गराएको उनले जाहेरीमा उल्लेख गरेका छन्।

‘वालिङ पुगिसकेपछि मैले हेलिकोप्टर ल्याण्ड गर्नुपूर्व खेल मैदानमा ल्याण्ड नगरी मैदान बाहिर नै ल्याण्ड गर्छु भनेकोमा जबर्जस्ती हेलिकोप्टरमा सवार उनीहरूले आयोजकलाई जानकारी गराइसकेको भन्दै मलाई निर्दिष्ट गरेकै स्थानमा हेलिकोप्टर ल्याण्ड गर्न विवश बनाए,’ जाहेरीमा पाइलट डंगोलले भनेका छन्।

उनले आफू घाइते अवस्थामा हेलिकोप्टर उडाउन सक्दिनँ भन्दासमेत उनीहरूले पोखरा फ्लाइट गर्न विवश बनाएको जाहेरीमा भनेका छन्। उनले नेपाल नागरिक उड्ययन ऐन, २०७१ को परिमार्जित ऐन नेपाल नागरिक उड्ययन ऐन २०७३ दफा ८० (१) अनुसार हवाई उडान सुरक्षाविरुद्धको कसूर र मुलुकी अपराध संहिता २०७४ को दफा ११८ (१) बमोजिम अभद्र व्यवहारको कसूरमा हदैसम्मको कारबाही माग गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->