नवलपुर/स्वास्थ्य कार्यालय नवलपुरले पत्रकार तथा अन्य सरोकारवालासँग कुष्ठरोग सम्वन्धि छलफल एवं अन्तरक्रिया गरेको छ । ७० औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर कुष्ठरोग निवारणसँग सम्वन्धित गैरसरकारी संघसंस्थाका प्रतिनिधि जिल्लास्थित क्रियाशील पत्रकार लगायतसँग अन्तरक्रिया गरेको हो ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रयोगशाला सहायक डिल्लीराम तिवारीले नेपालमा कुष्ठरोगको स्थिति, गण्डकी प्रदेश, नवलपुर जिल्ला र आठै पालिकामा कुष्ठरोगको अवस्थाका साथै रोगको प्रकृति, विरामी र विरामीको नजिकको सम्पर्कमा रहनेलाई पर्ने प्रभाव, चुनौती र रोग निवारणमा खेल्नुपर्ने भूमिकाका विषयमा डिजिटल स्लाइड प्रदर्शनका साथै प्रस्तुतिकरण राखेका थिए ।
२०७८/२०७९ को प्रतिवेदन अनुसार ११ जिल्ला रहेको गण्डकी प्रदेशमा नवलपुर जिल्ला सवैभन्दा धेरै कुष्ठरोगी रहेको जिल्लाका रुपमा रहेको छ ।
जनसंख्याका हिसावले प्रदेशमै कास्कीपछि दोस्रो ठूलो जनसंख्या रहेको नवलपुरमा प्रति दश हजार जनसंख्यामा ० दशमलव ९४ अर्थात करिव १ एक जना विरामी रहेको उल्लेख छ भने नवलपुरपछि लमजुङमा ० दशमलव ९१ जना कुष्ठरोगी थिए । कुष्ठरोगी शुन्य रहेको जिल्ला मनाङ भएपनि स्याङ्जामा ० दशमलव १ जना मात्रै रहेको तथ्याङ्क छ ।
जिल्लामा अघिल्लो वर्षमा औषधि सेवन गरेका र चालु वर्षको पुस मसान्तसम्म पहिचान भएका गरेर २८ जना विरामी रहेका छन् । यहाँ गैंडाकोटका ६ महिला र ६ पुरुष, कावासोतीका ४ महिला र १ पुरुष, देवचुलीका ३ महिला र ३ पुरुष, विनयी त्रिवेणीमा २ महिला र १ पुरुष, मध्यविन्दु मा १ जना महिला र हुप्सेकोटमा १ महिला सहित २८ जना बिरामी छन् । पहाडी गाउँपालिका बौदीकाली र बुलिङटारमा भने विरामीको संख्या शून्य छ ।
माइक्रो–ब्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने कुष्ठरोग रोगीको सम्पर्कमा रहने ब्यक्तिलाई स्वासप्रश्वासको माध्यमबाट सर्छ । कुष्ठरोगको किटाणु अर्को ब्यक्तिमा प्रवेश गरेको २ देखि ५ वर्षमा मात्र यसको लक्षण देखिने प्रयोगशाला सहायक तिवारीको भनाइ छ ।
रोग सर्ने दर अत्यन्त न्यून रहे पनि कुष्ठरोगका लक्षणलाई वेवास्ता गर्दा यसको असर गम्भीर स्थितिमा पुग्ने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाई बताउँछन् ।
कुष्ठरोगको जिवाणुले प्रभाव पारेका शरीरका कुनै पनि भागमा प्रारम्भिक लक्षण देखिने भएकाले सतर्कता अपनाउनुपर्ने चापागाईको भनाई छ । फुस्रो वा हल्का रातो दागहरु देखिनु र छुँदा थाहा नहुने यो रोगको प्रारम्भिक चरण भएकाले चिसो वा सामान्य छालाको रोग हो भन्ने भ्रममा रहदा थप समस्या हुने गरेको स्वास्थ्यकर्मीको अध्ययन र अनुभवले देखाएको चापागाईं बताउँछन् ।
शुरुवाती अवस्थामै कुष्ठरोगको पहिचान भएमा ति विरामीलाई दिईने औषधिले रोग निर्मूल हुने भएपनि लामो समयसम्म उपचार र औषधि सेवन नगरी अंगभंगसम्म पुगेका विरामीलाई भने थप समस्या जस्तै घाउ बढ्ने, पाक्ने, बल्झिने जस्ता लक्षण रोकिने तर बाङ्एिका औला, झिमझिमाउन रोकिएका आँखाका परेली निको पार्न नसकिने स्वास्थ्य शाखा कावासोतीका प्रमुख एवं जनस्वास्थ्य अधिकृत कृष्ण नागिला बताउछन् ।
कुष्ठरोगी पहिचान र उपचारको दायरामा ल्याउन अझै पनि सामाजिक, रुढीवादी र परम्परागत मुल्य मान्यताले प्रभाव पारेको सन्दर्भ जोड्दै यससम्वन्धि सचेतनाको खाँचो र त्यस्ता विरामीलाई आर्थिक रुपमा आत्मनिर्भर वनाउन सीप तालिमको सिर्जना गर्नुपर्ने विषयमा सरकारी र सरोकारवाला निकायले योजना बनाउनुपर्नेतर्फ सहभागीले सुझाएका थिए ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कुष्ठरोगी विरामीको आत्मविश्वास र हौसला कायम राख्न र समाजमा सामान्य नागरिक सरह जीवनयापन गर्ने स्थिति कायम गर्न तीनैतहका सरकारले नीति तथा कार्यक्रम ल्याउन मिल्ने बताए । सिडीओ लम्सालले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पालिका तहसम्मले सोच्नुपर्ने बताए ।
कुष्ठरोग निवारणका लागि सरकारले देशका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीबाट निःशुल्क रुपमा औषधि उपलब्ध गराउँदै आएको छ । नवलपुरमा पालिकाहरुले कुष्ठरोगी र तिनको स्याहार सुसार तथा नजिकको सम्पर्कमा रहने परिवारका सदस्यको खोजपडताल गर्दै आएको छ । नजिकको सम्पर्कमा रहेका त्यस्ता ब्यक्तिलाई कुष्ठरोग विरुद्धको एक मात्रा औषधिले रोग नसर्ने सम्भावना ९९ प्रतिसत रहने चिकित्सक बताउँछन् ।
यसैवीच, दिवसकै अवसर पारेर जिल्ला प्रहरी कार्यालय नवलपुरको सभाहलमा प्रहरी कर्मचारीलाई समेत कुष्ठरोगका बारेमा अभिमुखीकरण गरिएको प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जनाए ।





