म्याग्दी/ म्याग्दीका दुग्ध उत्पादक किसानहरूले दूधको मूल्य बढाउन माग गरेका छन् । आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत राख्दा किसानहरू मारमा परेको भन्दै आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्रले म्याग्दी उद्योग वाणिज्य संघलाई ज्ञापनपत्र बुझाएको छ ।
बजारका सम्पूर्ण बस्तुहरूको मूल्य पटक–पटक बढ्दा अहिलेकै मूल्यमा आफुहरूको लागत पनि नउठ्ने भन्दै केन्द्रका अध्यक्ष कमल पौडेलले म्याग्दी उवासंघका अध्यक्ष बेलबहादुर कटुवाललाई किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउने गरी सरोकारवाला निकायसँग समन्वय गर्न समेत अनुरोध गरेका छन् ।
अध्यक्ष पौडेल, सचिव सुरेश ढुंगाना, कोषाध्यक्ष कृष्णप्रसाद शर्मा र सदस्य दुर्गादत्त शर्माले ध्यानाकषर्ण गराउँदै अहिलेको अवस्थामा प्रतिलिटर २० प्रतिशत मूल्य वृद्धिको माग गरेका थिए ।‘‘डेरीहरुले अहिले दिँदै आएको मूल्यले लागत खर्च समेत उठ्न नसक्ने भएकाले मुल्य समायोजन नभए पेशाबाटै पलायन हुनुपर्ने जोखिम छ,‘हामीले बाध्य भएर दूधको मूल्य बढाउन माग गर्नुपरेको छ’सचिव ढुंगानाले भने ।
उनका अनुसार अहिले पानीरहित दुधलाई किसानले प्रतिलिटर १ सय १० रुपैयाँमा दूध बिक्री गर्दैआएका छन् भने डेरीले उपभोक्तालाई १ सय ३० रुपैयाँमा बिक्री गर्ने गरेका छन् । दुग्ध किसानले प्रति लिटर २० रुपैयाँ बढेमा बजारको मुल्यलाई ठेग्न सक्ने बताएका छन् । दुग्ध उत्पादक किसानले गोठबाटै सिधै डेरीमा लैजाने गरेको र मेसिनको प्रयोग गरी जिरो वाटर भएपछि बिक्री गर्ने गरेको केन्द्रका अध्यक्ष पौडेलले बताए । ‘हाम्रो अवस्थाका बारेमा बुझ्न सबै सरोकारवाला निकायलाई अनुरोध गर्दछौ,‘अनुदानभन्दा पनि मुल्य समायोजनको आवश्यकता छ‘ अध्यक्ष पौडेलले भने । बेनी नगरपालिका सहित जिल्लाका सबै स्थानीय तहमा रहेका दुग्घ उत्पादक कृषक समस्यामा छन् ।
ज्ञापनपत्र बुझ्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले दुग्ध किसानको समस्याका बारेमा स्थानीय तह, सरोकारवाला निकाय र डेरीसँग आवश्यक छलफल गर्ने बताए । उनले किसान, डेरीवाला र उपभोक्तालाई सहज हुने गरी मुल्य निर्धारणको आवश्यकता रहेको बताए । कृषकलाई सहुलियत ऋण उपलव्ध हुनुपर्ने, पशु विमा कार्यक्रमलाई प्रभावकारी लगायतका कार्यक्रमहरुलाई समेत प्राथमिकता दिन सरकारी निकायलाई अनुरोध गर्ने अध्यक्ष कटुवालको भनाई छ ।
म्याग्दीमा कोरोनाकाल यता दुग्धपालक कृषक पलायन हुने क्रम बढेको छ । बेनी नगरपालिकामा सानाठुला गरी २५देखि ३० जना ब्यवसायीक कृषक भएपनि हाल घटेर १७ देखि २० रहेको ै आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्रले जनाएको छ ।
निजी क्षेत्रको संस्था म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाललाई ज्ञापनपत्र बुझाउँदै अगुवा कृषक ।





