स्याङ्जा/ मानिस बितेपछि हिन्दु परम्परा अनुसारमा आफ्नै घरमा १३ दिन किरिया बस्ने गरिन्छ । तर, यहाँको एक परिवार आफ्नो स्थायी बसोबास नहुँदा छिमेकीको पाखोमा त्रिपाल टागेर किरिया गर्न बाध्य भएको छ ।
पुतलीबजार नगरपालिका ५ फापरथुममा गिटी कुटेर जीविकोपार्जन गर्दै ५० वर्षीय बुधे सार्की पाँच दिन पहिला आधा शरीर जनावरले खाएको अवस्थामा मृत भेटिए ।
सार्कीको मृत्यु पश्चात स्थानीयले श्रीमती, छोरी र छोरा बोलाएर अन्त्येष्टि गरियो । स्थानीय शिक्षक लेखनाथ शर्माका अनुसार आफ्नो स्थायी बासोबास गर्ने ठाउँ नभएपछि उनीहरु अहिले स्थानीयको जग्गामा त्रिपाल टाँगेर किरियामा बसेका छन् ।
छोरी र श्रीमती माइती नजिक भिरकोटमा गिटी कुट्ने तथा बालुवा चालेर बस्ने गरेका थिए छोरा भारतमा काम थिए ।
मृत्यु भएपछि गाउँलेले त्रिपाल किनेर सामान्य खर्च जोहो गरेर किरियामा राखेको र नगरपालिकाले १० हजार सहयोग गरेको शर्माले बताए ।पाँचौं दिन बुधबार नेपाल रेडक्रस स्याङ्जाले खाना पकाउने भाँडाकुँडा त्रिपाल, ब्लाङकेट, कम्बल र १२ हजार रुपैयाँ सहयोग गरेको छ । त्रिपालमुनि किरिया बसेको थाहा पाएपछि रेडक्रसे सक्ने सहयोग गरेको बताउदै अध्यक्ष दीनेश अर्यालले बताए । आर्थिक अवस्था कमजोर हुँदा गिटी कुटेर जीवन निर्वाह गरेको बताउदै श्रीमती बिना सार्कीले सबैलाई सहयोग गरेर श्रीमानको किरिया उम्काउन आग्रह गरिन् ।





