स्याङ्जा/ पुतलीबजार नगरपालिका ११ जैसिडाडाँको शीत भण्डारमा राखेका सुन्तला कुहिएर किसान मारमा परेपछि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ ।
सुन्तला राखेको एक महिनामै कुहिएपछि प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दास र कृषि, उर्जा तथा जलश्रोत मन्त्री वेदबहादुर गुरुङ, सांसद सुधीरकुमार पौडेललगायतको टोलीले शीत भण्डारको निरीक्षण गरेको हो ।
प्रदेशको सदनमा सांसद पौडेलले कुरा उठाएपछि प्रदेश सरकार बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले चासो राखेर अर्थ तथा कृषि मन्त्रीको टोलीले शीत भण्डारको निरीक्षण गरेको हो ।
निरीक्षणमा आर्थिक मामिलामन्त्री सुन्दासले सुन्तला कुहिँदा किसानहरु मारमा परेको बताउदै किसानका पक्षमा निर्णय गर्ने बताए । । कृषिमन्त्री गुरुङले अबको क्याबिनेटबाट केही न केही राहत दिने बताउँदै आगामी वर्ष सबै सुन्तला सुरक्षित हुने गरी राखिने प्रतिवद्धता जनाए ।
सुन्तला बिग्रनुमा संचालक र कृषक जिम्मेवार भएको बताउँदै कृषि ज्ञानकेन्द्रका प्रमुख विनोद हमालले किसानको सुन्तला टिपाइ, भण्डारण प्रक्रिया र प्राविकि पक्षको कमी भएको जिकिर गरे ।
मन्त्रीको निरीक्षणमा कृषक कृष्णजंग केसीले कृषकभन्दा पनि प्राविधिक कुरा नमिलाउँदा सुन्तला कुहिएको दाबी गरे । १० डिग्री तापक्रममा राख्नुपर्ने सुन्तला तीन डिग्री हुँदा पनि राखिएको बताउँदै केसीले किसानहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरे ।
शीतगृहमा सबैभन्दा धेरै २९ हजार ५३२ केजी सुन्तला राखेका पुतलीबजार ७ का कृषक डिलबहादुर रानाले आप्m्ना १७ हजार ७५६ केजी सुन्तला कुहिएको र बचेकाको राम्रो मूल्य नपाएको दुखेसो गरे ।
उनले संचालनक समितिले शीतगृहमा राखिएका सामग्रीको बीमा नगर्दा सबै क्षति कृषकको भएको बताए । एक हजार तीन सय मेट्रिक टन क्षमताको शीत भण्डार ब्लक एमा १२६ मेट्रिक टन मात्र सुन्तला राखिएकोमा ७० प्रतिशत कुिहएका थिए ।
मंसिर १४ गते चैत्रसम्म राखेर मुनाफा कमाउने लक्ष्य लिएर १६७ कृषकले सुन्तला राखेकोमा राखेको दुई महिनामा शीत गृह खाली भएको हो । यहाँ यस आर्थिक वर्षमा एक हजार ९५० हेक्टरमा सुन्तला लगाइएकोममा अहिले सम्मकै सबै भन्दा धेरै २२ हजार पाँच सय मेट्रिक टन उत्पादन भएको थियो ।





