बागलुङ नगरपालिका–६ मा रहेको लहरे पिपल माध्यमिक विद्यालयले बिभिन्न रचनात्मक कार्यक्रमसहित आफ्नो ६४ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अबसरमा विद्यालयले बिबिध खेलकुद, सांस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरेको थियो । माघ २४ गतेदेखि सुरुभएको वार्षिकोत्सव विशेषष् कार्यक्रमहरुको शुक्रबार बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले औपचारिक कार्यक्रमका बीच समापन गरे ।
विद्यालय जिल्लामानै पहिलो पटक आसन्न एईई परीक्षालाई लक्षित गरेर ‘एसईई परीक्षा विशेष’ हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बिहीबार भएको प्रतियोगितामा बागलुङ नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी १७ माध्यमिक विद्यालय सहभागी भएका थिए ।
कक्षा १० को पाठ्यक्रममा आधारित हाजिरीजवाफ प्रतियोगिता गरी एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले बताए । शुक्रबार बार्षिकोत्सव समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले सामुदायिक विद्यालयहरुले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।
बिद्यालयले पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज सापकोटालाई विशेष सम्मान गरेको थियो । विद्यालयको व्यवस्थापन र भौतिक संरचना निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सापकोटालाई विशेष सम्मान गरिएको हो ।
त्यस्तै विद्यालयले बर्षभरी उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकहरुलाई पनि सम्मान गरेको छ । शिक्षकहरु सोभा केसी, पुण्यप्रसाद शर्मा, मञ्जु थापा र लाल बहादुर थापालाई सम्मान गरिएको हो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल, वडा अध्यक्ष रुद्रबहादुर केसी, सम्मानित शिक्षक सोभा केसीलगायतले बोलेका थिए ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर कार्कीको अध्यक्षता, शिक्षक संगिता जिसीको स्वागत र दिपा तिवारी र श्यामप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





