बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चितवन-२ को उपनिर्वाचन वैशाख १० गते, रवि लामिछाने उम्मेदवार हुने

चितवन-२ को उपनिर्वाचन वैशाख १० गते, रवि लामिछाने उम्मेदवार हुने


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७९, आइतबार
फाइल तस्वीर ।

पोखरा / चितवन क्षेत्र नं. २ मा आगामी २०८० साल वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी वर्षको वैशाख १० गते आइतबारका दिन सो क्षेत्रमा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको जनाएको छ।

त्यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेले सर्वोच्च अदालतबाट नागरिकतासम्बन्धी मुद्दामा खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका थिए।

‘नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भए बमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो’ आयोगले आइतबार विज्ञप्ति जारी गरी भनेको छ।

आयोगले आज स्वीकृत गरेको उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम अनुसार भोलि २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ।

त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्य चैत २३ गते हुनेछ।

रवि लामिछाने उम्मेदवार हुने

वैशाख १० गतेका लागि तय भएको प्रतिनिधि सभा उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नै उम्मेदवार बन्ने भएका छन्। नागरिकता प्रकरणका कारण सांसद पद गुमाएका लामिछाने उपनिर्वाचनमा उम्मेदवार बन्ने रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए।

‘पार्टीको तर्फबाट सभापति रविजी नै उम्मेदवार बन्नुहुन्छ,’ बुर्लाकोटीले भने, ‘उहाँ हाम्रो लिडर हो, उहाँकै क्षेत्रमा अरु उठ्ने कुरा रहेन।’ यसबारे सोमबार बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने सम्भावना छ। पार्टी कार्यालय बसुन्धरामा सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको छ।

आइतबार विहान उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमा लामिछानेले उपनिर्वाचनबारे चासो राखेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->