
स्याङ्जा/ गएको माघ ५ गते प्रभु एयरको हेलिकोप्टर पाइलट रनेश डंगोलमाथि हातपात गर्नेहरु धरौटीमा रिहा भएका छन् ।
हवाइ उडान सुरक्षाविरुद्धको कसुर र अभद्र व्यवहार मृद्दामा पक्राउ परेका छ जनालाई जिल्ला अदालत स्याङ्जाले धरौटीमा रिहा गरेको हो । थुनछेक बहसपश्चात जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्तेदार विश्वबन्धु रेग्मीले बताए ।
गत माघ ५ गते वालिङ खेलमैदानमा खेल चलिरहँदाहेलिकप्टर ल्याण्ड गरेपछि क्याप्टेन रनेश डंगोलमाथिकुटपीट भएको थियो । आफूमाथि अभद्र व्यवहार भएको भन्दै क्याप्टेन रनेश डंगोलले हेलिकोप्टर चार्टर गर्ने विनोद गैरे,सुशील गिरी, खिमबहादुर राना, उज्वल थापा भन्ने ओमबहादुर धराली तथा कुटपीट गर्ने यामबहादुर गुरुङ र सुरेश श्रेष्ठविरुद्ध इलाका प्रहरी कार्यालय वालिङमा जाहेरी दिएका थिए ।
उजुरीपछि प्रहरीले छ जनालाई नै पक्राउ गरेको थियो । पक्राउ परेका छ जनामध्ये गैरे, गिरी, राना र धरालीलाई जनही तीन/तीन लाख धरौटीमा छोड्न आदेश दिएको छ भने पटकेमा परेका गुरुङ र श्रेष्ठलाई जनही चार/चार लाख छरौटीमा छाडिएको श्रेस्तेदार रेग्मीको भनाइ छ ।
वालिङ घटनासँगै उडानमा रोक लगाइका प्रभु एयरको छ वटा हेलिकोप्टरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पुन : उडान अनुमति दिएको छ भने क्याप्टेन डंगोलको निलम्बन फुकुवा नगरिएकोे प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।





