नवलपुर/ बिश्व वन्यजन्तु दिवसका अवसरमा चितवन राष्ट्रिय निकुञ्जद्धारा पश्चिम सेक्टर अमलटारीमा आयोजित कार्यक्रममा वक्ताहरुले समुदायबाटै गरिने अभियानले बन्यजन्तुको संरक्षण प्रभावकारी हुने बताएका छन् । अधिकांश वक्ताहरुले समुदायले संरक्षणमा भूमिका खेल्नुपर्ने बताईरहँदा स्थानीय स्तरमा क्रियाशील संरक्षणकर्मीले निकुञ्ज एवं तीनै तहका सरकारले निकुञ्ज र मध्यवर्ती प्रभावित जनताको रोजगार तथा आयआर्जनका माध्यमवाट आत्मनिर्भर गराउनुपर्नेमा समेत जोड दिएका छन् ।
विश्व वन्यजन्तु दिवसकै दिन नेपालमा समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण (सिविएपियु) दिवस मनाउने प्रचलन छ । सिविएपियु दिवसको ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित बन तथा बातावरण मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले बन क्षेत्रसँग सम्वन्धित वन, वनस्पति र बन्यजन्तु मानव जीवनका जीवनशैलीसँग जोडिएको र बाँच्ने आधार भएकाले मानव अस्तित्वका लागि पनि संरक्षण गनुपर्ने बताए ।
वन क्षेत्रसँग जोडिएको निकुञ्जकै कारण यहाँको आर्थिक अवस्थादेखि जीवनशैली फेरिएको जिकिर गर्दै सचिव पौडेलले तीनैतहका सरकार, नागरिक समाज, स्थानीय समुदाय र सरोकारवाला क्षेत्र मिलेर चोरी शिकार नियन्त्रणमा लाग्नुपर्ने बताए ।
वन्यजन्तु र मानवबीचको द्वन्द्वका विषयमा सचिव पौडेलले बन्यजन्तुको स्वभाव बुझेर मान्छेमा पनि परिवर्तन आउनुपर्ने बताए । उनले वन्यजन्तु पनि सुरक्षित हुनुपर्ने र मानव समुदायको संमृद्धि हुनुपर्ने गरी सन्तुलन मिलाउनुपर्ने धारणा राखे ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले एक थुकी सुकी सय थुकी नदी भन्ने उक्ति अनुसार एक जनाको पहलमा संरक्षण अभियान सफल नहुने भन्दै समुदायका सवैको साझेदारीले संरक्षणमा सफलता हात पर्ने बताए ।
मध्यवर्ती क्षेत्रमा बाटो–घाटो, स्कुल, सिमेन्ट–कंक्रिटमा गर्ने लगानीलाई विस्तारै घटाउँदै ति काम स्थानीय सरकारले हेर्नुपर्ने महानिर्देशक ढकालको भनाइ थियो । संघीयतापछि वन्यजन्तुको विषयबस्तु तीनै तहका सरकारको पनि साझा मुद्दा हो भन्ने थप बुझाइ रहनुपर्नेमा उनले जोड दिए ।
बन्यजन्तु संरक्षण तथा चोरी शिकार नियन्त्रण कार्यमा युवाहरुको सहभागितालाई प्राथमिकता दिदै गर्दा उनीहरुको रोजगारी वा आम्दानीको पाटोलाई सवल बनाउनेतर्फ ध्यान पुग्नुपर्ने होमस्टे एशोसियसनका राष्ट्रिय अध्यक्ष प्रेमशंकर मर्दनियाले जोड दिए ।
चोरी शिकार नियन्त्रणमा स्वयंसेवी रुपमा लागेका युवा, स्थानीय मध्यवर्ती बनका तर्फबाट प्रतिनिधित्व गदै बोलेका अधिकांश वक्ताले समुदायले संरक्षणमा खेल्नुपर्ने भूमिका इमान्दारीका साथ निर्वाह गरेको बताउँदै जिम्मेवार निकायले ती समुदायको स्तरोन्नतिका सवालमा सोच्नुपर्ने धारणा राखेकाथिए ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनका अध्यक्ष प्रकाश ढुंगानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले गरेका थिए ।
कार्यक्रमको औचित्य हित स्वागत चितवन राष्ट्रिय निकुञ्जका प्रमुृख संरक्षण अधिकृत हरिभद्र आचार्यले गरेका थिए ।





