नवलपुर/ देशब्यापी जारी एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत नवलपुरमा पालिका तहमा बैठक–भेला चलेका छन्् ।
अभियान अनुसार आइबार आयोजित कावासोती नगर कमिटीको बैठकमा मिसन ग्रसारुटका सन्दर्भमा अतिथि नेता तथा जिल्ला तहका नेताहरुले स्पष्ट पारेका थिए ।
पार्टी संगठन सुदृढीकरण तथा संगठन बिस्तार केन्द्रीत अभियान पार्टीका गतिविधिलाई अझ सशक्त र बलियो बनाएर लैजाने जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डेले विश्वास व्यक्त गरे । अध्यक्ष पाण्डेले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्यका लागि पनि मिसन ग्रासरुट अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । फागुन १३ गते जिल्ला कमिटीको बैठकले अभियानलाई सम्पन्न गर्न वडातहसम्म जिम्मेवारी तोकिएको जिल्ला सचिव भीमलाल अधिकारीले बताएका छन् ।
जिल्लाका आठै पालिकामा सञ्चालन गरिने अभियानअन्तर्गत अहिलेसम्म कावासोतीसहित देवचुली, गैंडाकोट, बौदीकाली, हुप्सेकोटका पालिका कमिटीको बैठक–भेला सम्पन्न भएको अधिकारीले बताएका छन् । मिसन ग्रासरुटका लागि नवलपुरमा केन्द्रीय सदस्य भिम कार्की तथा केन्द्रीय लेखा आयोग सदस्य तथा गण्डकी प्रदेश सासद पद्मा जिसी, गण्डकी प्रदेश कमिटी सदस्य शोभियत ढकाललगायतका नेताहरु तोकिएका छन् । नेकपा एमालेले फागुन र चैत दुई महिना ७७ वटै जिल्लामा एकसाथ मिसन ग्रासरुट अभियान सञ्चालन गर्ने गरी कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।





