बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जटायु रेष्टुरेण्टः गिद्धको मुख्य बासस्थान

जटायु रेष्टुरेण्टः गिद्धको मुख्य बासस्थान


  • खगेन्द्र पराजुली
  • फाल्गुन २८ २०७९, आइतबार

नवलपुर/ लोपोन्मुख अवस्थामा रहेको प्रकृतिकै कुचिकार पंक्षी गिद्धको संरक्षण केन्द्रको रुपमा प्रख्यात नवलपुरको जटायु रेष्टुरेण्टबाट शनिबार १० वटा गिद्धलाई खुला आकासमा छाडिएको छ ।

कावासोतीको पिठौलीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा अवस्थित जटायु रेष्टुरेण्ट ब्यवस्थापन समितिद्धारा सञ्चालित गिद्ध संरक्षणस्थलमा दुर्लभ गिद्धका विभिन्न प्रजातिका गिद्धलाई बथान–समूहमा घुलमिल गराइ खुला आकासमा छाड्ने गरिन्छ ।

चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका १० वटा गिद्ध एक कार्यक्रमकाबीच प्राकृतिक बासस्थानमा छोडिएको हो ।

कार्यक्रममा वन–वातावरण, पंक्षीसँग सम्बन्धित राष्ट्रिय अन्तर्राष्ट्रिय संरक्षणकर्मी–सरोकारवाला, जनप्रतिनिधि–पत्रकारसहितको टोलीले प्रकृतिमा छोडिएको अवस्थाको अवलोकन समेत गरेका थिए ।

गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट जटायु रेस्टुरेण्टको खोरमा ल्याएर राखिएका डंगर जातका १० गिद्धलाई प्रकृतिमा छाडिएको रेष्टुरेण्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बताए ।

२०६३ सालको भदौमा स्थापना भई निरन्तर गिद्ध संरक्षण गर्दै आएको जटायु रेष्टुरेण्टबाट अहिलेसम्म ६९ वटा गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको चौधरीले बताए । ती सवै कसरा प्रजनन केन्द्रमा हुर्काएर जङ्गलमा छाडिएको हो ।

कसराको प्रजनन् केन्द्रमा जालीभित्र गुँड बासस्थान बनाई पालिएका माउ गिद्धबाट कोरलिएका बच्चा सहित वयस्क गिद्धलाई ३ देखि ६ महिनासम्म फेरी पिठौलीस्थित जटायुमा जालीभित्रै राखेर बाहिरी गिद्धसँग घुलमिल गराइ प्राकृतिक रुपमा बाहिरी वातावारणमा छाडिएको हो ।
नेपालभर १५ हजार संख्याको हाराहारीमा गिद्ध रहेको बताउँदै चौधरीले जटायु रेष्टुरेण्ट वरपर ५११ गिद्ध गणना भएको पछिल्लो तथ्याङ्क रहेको सुनाए ।

नेपालमा ९ प्रजातिका गिद्ध रहेकामा पिठौलीमा मात्रै ८ प्रजातिका गिद्ध रहेका छन् । यहाँका गिद्धको बेला–बेलामा प्राविधिकद्धारा स्वास्थ्य अवस्थाको बारेमा जानकारी राखिने र यसरी प्रकृतिमा मिसाउँदा उनीहरुको आनीवानी, शारीरिक तथा स्वास्थ्यको स्थिति परिक्षण–अनुसन्धानपछि मात्रै छाडिएको चौधरी बताउँछन् ।

नेपालबाट सुरु गरिएको गिद्ध प्रजनन केन्द्र र जटायु रेष्टुरेन्ट प्रोजेक्ट संसारमै सफल मानिएको छ । जटायु रेष्टुरेण्टले सञ्चालन गरेको गिद्ध संरक्षण केन्द्र संरक्षणका लागि मात्रै नभएर पंक्षी–वातावरणसँग सरोकार राख्ने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र समेत बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->