नवलपुर / नवलपुरको अरुणखोलास्थित अरुणखोला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत विद्यार्थी नेताहरुले गोला तानेर पद भागबन्डा गरेका छन् ।
मतदानमा कुनै एउटा पक्षको स्पष्ट बहुमत नआउने हिसाब निस्किएपछि सहमतिका आधारमा यहाँका ४ विद्यार्थी संगठनका नेताले गोला थुतेर भागबन्डा गरेका हुन् ।
क्याम्पस प्रमुख ऋषिराम पाण्डेका अनुसार विद्यार्थी संगठनले आपसी छलफल गरेर गोला तानेर सहमति गरेका हुन् ।
पाण्डेका अनुसार स्ववियु सभापतिमा नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियुले स्ववियु सभापतिसहित २ सदस्य पाएको छ । एमाले निकट अनेरास्ववियुले उपसभापति, सहसचिवसहित दुई सदस्य पाएको छ ।
कांग्रेस निकट नेविसंघले सचिवसहित दुई सदस्य पाएको छ । माओवादी निकट अखिल क्रान्तिकारीले भने कोषाध्यक्षसहित २ सदस्य पाएको छ । त्यहाँ मंगलबार विद्यार्थीहरुले सहमति गरेर गोला थुतेको विद्यार्थी नेता तीर्थ डुम्रेले जानकारी दिए । गोला तान्दा परेको पदसहित थप दुई/दुई सदस्य लिएर सहमति गरेका हुन् ।
३ सय ११ विद्यार्थी अध्ययनरत रहेको यस क्याम्पसमा स्नातक तहसम्म पढाइ हुन्छ । गोला तान्दा परेको पदसहित ती विद्यार्थी संगठनले स्ववियु निर्वाचन निर्विरोध घोषणा गराउन क्याम्पस प्रमुखलाई संयुक्त निवेदन दिएका छन् ।





