बेनी /पश्च्मि म्याग्दीमा रहेको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो । रोकाले १ सय ३० मत प्राप्त गरिन भने नेपाल विद्यार्थी संघका गौरव आचार्यले १५ मत पाएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियूका रविन शाहीले १३० मत र कोषाध्यक्षमा तारा रानाले १२६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अनेरास्ववियुबाट सदस्यहरुमा मेघबहादुर घर्ती (१३२), विन्दा रोका (१३५), सजिना सुबेदी (१३५), किशोरी फगामी (१३४), यूमायाँ दर्जी (१३२) पाएर विजयी भएको निर्वाचन अधिकृत बलबहादुर कार्कीले बताए ।
जम्मा २१२ मतदाता रहेको क्याम्पसमा १४३ मत खसेको थियो । निर्वाचन नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले भने बाहिस्कार गरेको थियो ।समानुपातिकमा १२ मत प्राप्त गरेको नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनमा एउटा स्थान पाउने उनले बताए । मतदान बिहान ८ बजेर १० मिनेटमा शुरु भएको र ४ बजे सम्म १४३ जनाले मतदान गरेका थिए । मंगला शिक्षा क्याम्पसमा प्रत्यक्षतर्फ नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सबै ८ पदमा उम्मेदवारी दर्ता गराएको थियो । प्रत्यक्षतर्फ सबै पद अनेरास्ववियुले हात पारेको भए पनि समानुपातिकमा भने एउटा सीट नेबिसंघले प्राप्त गर्नेभएको छ । यसैबीच नवनिर्वाचित स्ववियू अध्यक्ष रोकाले चुनावपछिको यात्रामा सबै विद्यार्थी संगै हुने बताईन् ।
उनले चुनाव एक प्रक्रिया भएपनि सहकार्य र सहमतिबाटै अगाडी बढ्ने प्रतिबद्धता जनाईन् । पश्चिम क्षेत्रको शैक्षिक धरोहर मानिएको क्याम्पसले क्यूएए प्राप्तीको अभियानमा स्ववियूमार्फत काम गर्ने प्रमुख लक्ष्यमा सघाउने नवनिर्वाचित अध्यक्ष रोकाको भनाई छ । विद्यार्थीको मतदानस्थल आसपासका क्षेत्रमा सद्भावमय चुनावी माहोल देखिएको थियो ।





