नवलपुर/नवलपुरमा भएको स्वास्थ्य शिविरमा छ सय बढीले परिक्षण गराएका छन् । २ ठाउँमा चलेको एक–एक दिने छाला सम्बन्धि समस्याका ६ सय वढीले सेवा लिएका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
मंगलवार मध्यविन्दुको अरुणखोलास्थित नयाँ बेलहानी स्वास्थ्य चौकीमा सञ्चालित निशुल्क शिविरमा १ सय ९२ जना तथा बुधवार देवचुलीको दुम्कौली नगर अस्पतालमा चलेको शिविरमा ४ सय भन्दा धेरैले परिक्षण सहित निशुल्क औषधि सेवा लिएका सहयोगी संस्था आईएनएफ नेपाल, हरियोखर्क अस्पताल पोखराका कार्यक्रम संयोजक तारा हाड तावाले जानकारी दिए ।
अरुणखोलामा मध्यविन्दु नगरपालिका र दुम्कौलीमा देवचुली नगरपालिकाको आयोजना, स्वास्थ्य कार्यालय नवलपुरको समन्वय र हरियोखर्क अस्पतालको विशेषज्ञ डाक्टर, प्राविधिक, प्रशासनिक जनशक्ति तथा आर्थिक सहयोगमा शिविर चलेको थियो ।
छालासँग सम्बन्धि दीर्घ तथा नयाँसमस्याका सेवाग्राही चेकजाँचमा आएका थिए। अधिकांश तथा डण्डीफोर, चायाँपोतो, दाजको समस्या भएर आएका थिए भने दीर्घ समस्या र कुष्ठरोगसँग मिल्दाजुल्दा केही केश आउँदा छालाको नमूना संकलन गरि ल्याव परीक्षण समेत गरिएको स्वास्थ्य कार्यालय नवलपुरका कुष्ठ तथा क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले जनाए। उनका अनुसार मध्यविन्दुका शंकास्पद तिन जनाको नमूना परीक्षण गर्दा कसैमा पनि कुष्ठरोगको संक्रमण देखिएन ।
मध्यविन्दुको शिविरमा नगरप्रमुख भीमलाल अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाई लगायतले निरीक्षण गरेका थिए भने देवचुलीमा नगर प्रमुख हरिप्रसाद न्यौपाने, उपप्रमुख पार्वता तिवारी लगायत नगर प्रवक्ता, वडाअध्यक्ष, स्वास्थ्य प्रमुखलगायतले शिविरको निरिक्षण गरेका थिए । हरियोखर्कका छालारोग विशेषज्ञ डाक्टर प्रकाश कार्कीसहितको टोलीले चेकजाँच गर्न संख्या धेरै भएर नभ्याउने भएपछि दुम्कौली अस्पतालमा मध्यविन्दु जिल्ला अस्पतालवाट मेडिकल अधिकृत डाक्टर अविनाश पराजुलीसमेतको टोलीले स्वास्थ्य परिक्षन सहित विरामीलाई परामर्श र औषधि सिफारीस गरेका थिए ।





