नवलपुर/देवचुलीमा ट्रमा सेन्टर स्थापनार्थ जग्गा छनोटका लागि स्थलगत अवलोकन भएको छ । संघीय मन्त्रालयका विज्ञ मन्त्रालय तथा विभागका अधिकारी– कर्मचारीले ट्रमा सेन्टरका लागि सिफारीस भएका ४ वटा क्षेत्रको अवलोकन गरेको हो ।
देवचुली नगरपालिकाको वडा नं. १७ स्थित कराही खोला किनार, वडा नं. १६ को मुकुण्डे खोला किनार, वडा नं. १३ को बौलाहा खोला किनार र वडा नं. १५ र १० को लोकाहा खोला किनारका सामुदायिक बन तथा ऐलानी जग्गा टोलीले अध्ययन अवलोकन गरेर फर्किएको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयका उप–सचिव एवं योजना महाशाखाका प्रमुख लिला पौडेल, सहरी विकास मन्त्रालय अन्तर्गत भवन विभागको स्वास्थ्य महाशाखा प्रमुख परिक्षित कडरिया, भवन विभाग भरतपुर महाशाखा कार्यान्वयन ईकाई प्रमुख प्रकाश अर्याल, भवन विभागका इन्जिनियर सनिन कर्माचार्यको अध्ययन टोलीले शनिवार स्थलगत अवलोकन गरेको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जनाएका छन् ।
नेपाल सरकारको चालु आर्थिक वर्षको नीति र कार्यक्रममा देवचुलीमा ट्रमा सेन्टरको स्थापना गर्ने भन्ने नितिगत व्यवस्था भए अनुसार बजेट विनियोजन भएकाले प्रारम्भिक प्रक्रिया बमोजिम नगरपालिकाले सिफारीस गरी पठाएका सम्भावित सबै स्थानबाट एक उपयुक्त ठाउँ छनौटका लागि विषयगत क्षेत्रबाट अनुगमन निरिक्षण गराईएको मरासिनीले बताए । पूर्वमा झराही खोलादेखि निरिक्षण गर्दै पश्चिममा रहेको लोकाहा क्षेत्रको अवलोकनपछि आयोजित छोटो कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले देवचुलीमे ट्रमा सेन्टर बन्नु देवचुलीवासीका लागि पनि राम्रो र ठूलो अवसरको विषय भएकाले सबैले हातेमालो गर्न आग्रह गरे । उनले भने,‘जहाँसम्म लोकाहा क्षेत्रमा भइदिए हुन्थ्यो भन्ने भावना भएपनि अध्ययन–विश्लेषण सहित छनोट गर्दा सरकारको नीति र मापदण्ड अनुसार अर्को अर्डमा पर्ने भएछ भने पनि ती पर्छ यसले जनने प्रत्यक्ष राम्रो हुन्छ । यो देवचुलीवासीका लागि ठूलो र राम्रो अवसर भएकाले सवैले सकारात्मक हातेमालो गरौं ।’
सिडिओ लम्सालले स्वास्थ्य मन्त्रालयको अस्पताल व्यवस्थापन सम्बन्धी केही मापदण्ड र आधारहरु प्रविधिक हिसावले सहरी विकास मन्त्रालयका पनि केहि आधार र मापदण्डहरु साथै जग्गा प्राप्तिका केहि अनुसासन र नियम हुने बताए ।
उनले जग्गा प्राप्तिमा अप्ठेरो पनि आइपर्नेतर्फ सजग रहन पनि आग्रह गरे । ‘इआइए, आइइइ, डीपीआर लगायत गर्नुपर्ने कुराहरु छन् । जग्गा प्राप्तिमा अप्ठेरो पर्ने कुरा हुन सक्छन् । सबै विषयको लेखाजोखा गरेर नवलपुरको यो उदाउँदो सहरी क्षेत्रको रुपमा रहेको देवचुलीमा ट्रमा सेन्टरका लागि विवेकसिस भएर उपयुक्त स्थान छनोट गर्नुपर्ने हुन्छ,’उनले भने ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले कुनै प्रभावमा नपरी निष्पक्ष ढंगले विज्ञ टोलीले उपयुक्त स्थान सिफारीस गर्नेमा देवचुलीवासी सहित आफू समेत विश्वस्त रहेको सुनाए ।
उनले यसका कानूनी प्रक्रियाहरुका सन्दर्भमा वडा, नगर र जिल्लासम्मबाट समन्वय र सहकार्य हुने बताए । वडाध्यक्षहरु लगायत अधिकारी समेतले प्रतिवद्धता जनाएकाले देवचुलीमा ट्रमा सेन्टर सुरुवातसँगै यसको लाभ धेरैले पाउने अपेक्षा राखे ।
अवलोकन भएका जमिन सबै मुख्यमार्गसँग जोडिएको राजमार्ग नजिककै जमिन हुन् । वडा नं १७ को झराहीखोला पुल नजिकैको करीव ४५ विगाहा ऐलानी जग्गा, वडा नं. १६ को धुवज्योति आधारभूत विद्यालयको स्वामित्वमा रहेको मुकुण्डे खोला किनारको करीव डेढ विगाहा जग्गा, वड नं. १३ को बौलाहा खोला किनारको मुख्यमार्गको उत्तर र दक्षिण दुवैतर्फको करीव ९ विगाहा क्षेत्रफलको जग्गा र लोकाहामा पनि खोला किनारकै सामुदायिक वन क्षेत्रको करीव ४ विगाहा क्षेत्रफलको जग्गा हुन् । यीमध्ये लोकाहा क्षेत्र प्रदेशको गौरवको योजना अन्तर्गत औधोगिक ग्रामका लागि समेत सिफारिस भएर जग्गा नापजाँच भइसकेको छ । अवलोकनमा प्रदेश सासद महेन्द्रध्वज जिसी सहित वडाअध्यक्षहरु र सो क्षेत्रका स्थानीयहरु समेत उपस्थित भएका थिए ।





