म्याग्दी/ भगवान रामको बालवयको मूर्ति निर्माणका लागि भनेर गत माघ १२ गते श्रीपञ्चमीका दिन म्याग्दीको गलेश्वर क्षेत्रस्थित कालीगण्डकी नदीबाट भगवान रामको जन्मभूमि भारतको अयोध्या पठाएका दुईवटा देवशिला अहिले अयोध्याको आकर्षण बनेका छन् ।
अहिले ती शिलाहरु अयोध्यास्थित रामजन्मभूमि कार्यशालाको चौराहादेखि ५ सय मिटर दूरीमा राखिएको छ ।
देवशिलाको दर्शन, पूजन र अवलोकनका लागि दैनिक हजारौं भक्तजनहरुको भीड लाग्ने गरेको छ । शिलाको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
म्याग्दीको बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारको उक्त शिला भारतवर्षको प्राचिन सभ्यता र धार्मिक क्षेत्र मध्येको महत्वपूर्ण स्थल अयोध्यामा ‘साढे ६ करोड वर्ष पुरानो श्री हरिशिला’ भनेर पुजिए पनि जुन कामका लागि अयोध्या लगिएको हो सो विषयमा भने विवाद उत्पन्न भएको छ ।

श्रीराम जन्मभूमि कार्यशाला चौराहामा नेपालको कालीगण्डकी नदीबाट लगिएको देव शिला सहित भारतको उडिसा,राजस्थान,जयपुर,दक्षिण भारतलगायतका क्षेत्रबाट लगिएका शिलाहरु पनि राखिएका छन् । ती शिलाहरुमध्ये कुन शिलाबाट भगवान रामललाको बाल स्वरुपको मूर्ति बनाइने भन्ने विषयमा अझैसम्म पनि अन्योल रहेको श्रीराम जन्मभूमि ट्रष्टका अधिकारीहरुले आफूलाई जानकारी दिएको अयोध्यास्थित बढी छाउनीका नेपाली साधु दास केदारनाथले जानकारी दिए ।
दास केदारनाथका अनुसार कालीगण्डकीबाट ल्याइएका दुई देवशिला कुन कामका लागि प्रयोग गर्ने भन्ने कुरा अहिले नै स्पष्ट भैसकेको छैन ।
श्री रामजन्मभूमि तीर्थ क्षेत्रका नीति निर्धारकहरुले भारत सरकारको निर्णय आएपछि मात्र भन्न सकिने बताएका छन् ।
भारतका केही साधु सन्त र विद्धानहरुले नेपालबाट ल्याइएको शिला करोडौं वर्ष पुरानो श्रीहरि शिला भएको,उक्त शिलालाई भगवानको अंश मानेर पूजिने हुँदा छिना वा अन्य हतियार चलाएर फोड्न नहुने, यदी ती देव शिलालाई फोडेमा ठूलो अनिष्ट हुने भन्दै ती शिलालाई यथावतरुपमा नै राखेर भगवान श्रीरामका समेत गुरु मानिने भगवान हरि (विष्णु) को पूजन गरिनु पर्ने अडान राखेपछि ती शिलाबाट भगवान रामको वायवयको मूर्ति बनाउने वा नवनाउने भन्ने विषय अन्योलमा रहेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
श्री रामजन्मभूमि तीर्थ क्षेत्रका अधिकारीहरुले नेपाली जनताको भावनाको आदर हुनेगरी भारत सरकारले निर्णय लिने बताइएको छ ।
‘भगवान रामललाको मूर्ति निर्माण हेतु धेरै ठाउँबाट शिलाहरु अयोध्या ल्याइएका छन्,ती शिलाहरुमध्ये कुन शिलालाई कुदेर भगवानको मूर्ति प्रतिष्ठापित गरिन्छ त्यो विषय अहिले अनिर्णित नै छ’ दास केदारनाथले भने ‘सो विषयमा यहाँका अधिकारीहरुले अहिल्यै केही बताउन चाहँदैनन् । कुन शिलाबाट भगवान रामको बालवयको मूर्ति बनाउने भन्नेकुरा भारत सरकारले निर्णय गरिसकेपछि मात्र भन्न सकिन्छ ।’
अयोध्याको सवैभन्दा प्राचीन पीठ तपस्वी छाउनीका पीठाधीश्वर जगद्गुरु परमहंस आचार्यले श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई एक पत्र लेखेर अहिल्या रूपी पत्थरमा छिना हथौडा नचलाउन अपिल गरेका छन् । यदी यी पत्थरमा छिना हथौंडा चलाएर फोड्ने हो भने तबाही आउन सक्ने उनले चेतावनी दिएका छन् ।

उनले कालीगण्डकीबाट ल्याइएको शालिग्राम शिलामा भगवान श्रीहरि विष्णको साथमा माता लक्ष्मीको पनि वास हुनेहुँदा ती शिलाको प्राणप्रतिष्ठा गर्न नहुने र प्राणप्रतिष्ठा नै नगरी भगवान रामको मूर्ति मन्दिरमा राख्न नमिल्ने बताएका छन् । यही विषयलाई लिएर भारत सरकारले अहिले अन्य विद्धान र साधुसन्तहरुसँग छलफल गरिरहेको पनि बुझिएको छ ।
भारतीय संचारमाध्यमहरुले पनि यस विषयलाई प्राथमिकताका साथ प्रकाशन/प्रशारण गरेका छन् । भारतीय संचारमाध्य प्रभास काशी,टिभी इण्डिया,अमर उजाला,आजतक लगाएतले शालिग्राम शिला स्वयं भगवान नारायण भएको हुँदा भगवानलाई कुनै पनि हतियार प्रयोग गर्न नहुने भन्दै समाचारहरु प्रकाशन÷प्रशारण गरेका छन् ।





