नवलपुर/ कावासोतीमा भएको निशुल्क आँखा शिविरमा ८० जनाले सेवा लिएका छन् । नेपाल पत्रकार महासघको ६८ औं स्थापना दिवसको अवसर पारेर आयोजित शिविरमा कृयाशील सञ्चारकर्मी, सञ्चारकर्मीका परिवार, प्रहरी कर्मचारी लगायतले आँखा जाँच गराएका हुन् । पत्रकार महासंघ नवलपुर शाखा र रोटरी क्लव अफ कावासोतीको संयुक्त आयोजनामा भएको निशुल्क शिविरको प्राविधिक परिक्षण, परामर्श र सहायक सामग्री चस्मा सहितको सेवा कावासोती थानाचोकमै रहेको मध्यविन्दु आँखा अस्पताल र द नेक्स्ट एजुकेशनले उपलब्ध गराएको हो ।
मध्यविन्दु आँखा अस्पतालको प्रयोगशालामा भएको चेकजाँचका क्रममा अधिकांशको आँखामा दृष्टिदोष पाइएको छ । परिक्षण गराएका ८० प्रतिसत पत्रकारलाई चस्मा लगाउन सुझाव र सिफारिस गरिएको अस्पतालका सञ्चालक प्रदीपप्रसाद भट्टराईले बताए ।
उनका अनुसार सुगर र प्रेसरको समस्या भएका केहीलाई भने प्रत्येक ६–६ महिनामा नियमित परिक्षण गर्न सुझाइएको छ ।
शिविरमा ४९ जना पत्रकार, ८ जना पत्रकारका परिवार र सिडियो सहित २३ जना प्रहरी कर्मचारीले सेवा लिएका रोटरी क्लव अफ कावासोतीका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेलले जनाएका छन् । शिविरमा पत्ता लागेका ४२ जना चस्मा लगाउनुपर्नेका छन् । पत्रकार मात्रै ३६ जनाले चस्मा लगाउनुपर्ने अवस्थाका भेटिए ।
पत्रकार महासंघ नवलपुरमा अध्यक्ष वीरेन्द्र पराजुलीको अध्यक्षतामा औपचारिक कार्यक्रममार्फत शुरु भएको शिविरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।





