नवलपुर/ देवचुली नगरपालिकाको वडा नं. १२ मा लक्षित समुदाय शीर्षकमा आयआर्जनमूलक वस्तु वितरण तथा पोषण वस्तु वितरण कार्यक्रम भएको छ ।
चालु आर्थिक वर्षको लक्षित समुदायअन्तर्गतको वडाको बजेट मार्फत विपन्न महिला, विपन्न दलित र अपाङ्गता भएका ब्यक्तिलाई वाख्राका पाठी एवं सुनौलो हजार दिनका आमा र बच्चाका लागि पोषण वस्तु वितरण गरिएको वडाध्यक्ष लोकप्रसाद भुर्तेलले जानकारी दिए ।
वडाअध्यक्ष भुर्तेलको अध्यक्षता तथा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा मरासिनीले लक्षित वर्ग र समुदायको आर्थिक सशक्तिकरणमा नगरपालिकाको सधै चासो रहिरहेको बताउँदै वडाले प्रदान गरेको यो सहयोगवाट लाभग्राहीले उच्चतम प्रतिफल लिनुपर्ने अपेक्षा गरे ।
वडाभित्रका २० जना विपन्न महिला, २० जना विपन्न दलित र ५जना अपाङ्गता भएका गरी ४५ जना लाई बीउँपूजी स्वरूप वाख्राका पाठी हस्तान्तरण गरेको हो । वडाअध्यक्ष भुर्तेलले तीसबै पाठीको एक वर्षको बिमा समेत वडाकै वजेटवाट गरेर सुरक्षण सुनिश्चित गरिदिएको बताए। नगरपालिकामै वाख्रा पालनमा उत्कृष्ट मानिने वडा नं. १२ कै व्यवसायिक फर्मवाट उत्पादित सोही क्षेत्रमा हुर्किएका धेरै र अपुग पाठीहरू नगरपालिका भित्रैका फर्मवाट खरिद संकलन गरेर वितरण गरिएको भुर्तेलले बताए ।
यस्तै सोही कार्यक्रममा ७० जना सुनौलो हजार दिनका आमा बच्चाको पोषण स्वास्थ्यको लागि भन्दै मह र अण्डा वितरण गरिएको जनाइएको छ । यी पोषण वस्तु समेत स्थानीय उत्पादक कृषि फर्मवाटै ल्याएको वडाध्यक्ष बताउँछन् ।चालु आर्थिक वर्षको लक्षित समुदाय शीर्षकको ५ लाख ५० हजार रुपैंया वजेट अन्तर्गतको ५ लाख वजेटवाट कार्यक्रम गरिएको जनाइएको छ । वडाले विपन्न महिलालाई २ लाख, विपन्न दलितलाई २ लाख, अपाङ्गता भएकाका लागि ५० हजार, सुनौलो हजार दिनका लागि ५० हजार र किशोरीका लागि ५० हजार छुट्याएको थियो । शिर्षक अन्तरगत अब किशोरी लक्षित कार्यक्रम गर्न बाँकी छ ।





