पोखरा/ पछिल्ला दुई चुनावमा रामचन्द्र पौडेल राष्ट्रपति नहुन्जेल उनको विरुद्धमा तनहुँ १ मा स्वतन्त्र उमेदवारी दिइरहने व्यक्ति हुन, गोविन्दराज जोशी । कांग्रेसका पूर्वसहमहामन्त्री जोशी स्वतन्त्र हुनुको कारण चाहिँ ०७४ को प्रतिनिधीसभा निर्वाचन हो । रामचन्द्र पौडेल तनहुँ १ बाट उमेदवार हुन चाहन्थे, जोशीको इच्छा पनि त्यहीँबाट उमेदवार बन्ने थियो ।
तर, पार्टीमा आफै टिकट बाँड्ने हैसियतमा रहेका पौडेलले उक्त क्षेत्रको टिकट आफैले राखे । जोशीलाई टिकट त दिएनन नै, त्यसपछि जोशीले बागी उमेदवारी दर्ता गरे ।
कांग्रेसको राजनीतिका यी समकालीन दुइजनाको तिक्तता त्यसपछि झनै बढ्यो । पौडेलले निर्वाचन आयोगमा जोशीविरुद्ध उजुरी दिए । जोशीको उमेदवारी खारेज भयो ।
अनि सुरु भयो जोशीको, ‘पौडेल हराउ अभियान ।’०४८ सालयता तनहुँमा कहिल्यै नहारेको कांग्रेस ०७४ मा हार्न पुग्यो । पौडेल नेकपा एमालेका (हाल नेकपा एकीकृत समाजवादी) किसान श्रेष्ठसँग पराजित हुन पुगे ।
त्यसपछि कांग्रेसबाट जोशीको बहिर्गमन भयो । कांग्रेसले जोशीलाई पाँचवर्षको लागि निलम्बन गरिदियो । तर, जोशीले पार्टीले कारवाही गरेको पत्र हालसम्म पनि नपाएको आइतबार एक कार्यक्रममा बताएका छन । आइतबार नै कांग्रेसले उनीमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयको औचित्य नरहेको जोशीको भनाई छ ।
०७४ को चुनावबाट पार्टीबाट नै बिदाई भएका जोशीले पौडेलको विरुद्धमा उमेदवारी दिन भने छाडेनन । ०७९ मंसिर ४ गतेको प्रतिनिधीसभा निर्वाचनमा पनि उनले स्वतन्त्र उमेदवारी दिए । गठबन्धनका उमेदवार रामचन्द्र पौडेलले चुनाव त जिते, तर कैँची चुनाव चिन्ह लिएका जोशी पनि तेश्रो बढि मत ल्याउने उमेदवार बने ।
पौडेलले २५ हजार ३६१ मत ल्याएर विजयी बन्दा प्रतिष्पर्धी एमालेका एकबहादुर रानामगरले १९९८१ मत ल्याए । यी दुइबिचको अन्तर पाँच हजार ३८० छ ।
निर्वाचन आयोगको वेवसाइटमा सार्वजनिक अन्तिम मतपरिणाम अनुसार गोविन्दराज जोशीले छ हजार ८८६ मत ल्याएका छ । जोशीले चुनाव त हारे, र पनि तनहुँमा अझैपनि आफ्नो व्यक्तिगत प्रभाव कति छ मूल्यांकन पनि गराए, दलीय उमेदवारहरुलाई आफ्नो शक्ति पनि देखाए ।
यही बुझेरै कांग्रेसको आइतबारको कार्यसम्पादन समितिको बैठकले जोशीलाई फकाएर निर्वाचन आफ्नो पक्षमा पार्न निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । जोशीसँग नै सम्बन्ध सुधार गर्दै कांग्रेसका उमेदवारलाई जिताउन महामन्त्री गगनकुमार थापाले पनि सक्रियता देखाएका छन ।
जोशीले भने आइतबार नै कांग्रेसको यो चुनावी रणनीतिमात्र रहेको बताउँदै जनतालाई दिग्भ्रमित पार्न खोजिएको आरोप लगाएका छन ।
तर, पौडेल उमेदवार हुँदा स्वतन्त्र उमेदवारी दिएका जोशीले सोमबार आफ्नो उमेदवार भने दर्ता गराएनन ।
उनले उमेदवारी दर्ता नगरेतापनि चुनाव नै पल्टाउन सक्ने व्यक्तिगत प्रभावका कारण सबै दलले उनलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन ।
तनहुँको उपचुनावमा हेभिवेट नेतासहित नौ जनाको उमेदवारी बनेको छ । सारमा हेर्दा चुनाव त्रिपक्षीय हुने देखिन्छ र यही त्रिपक्षीय निर्वाचनमा जोशी कता ढल्किन्छन भन्ने चासो सबैलाई छ ।
…………
‘जोशी फ्याक्टर’ को प्रभाव बुझेरै उनको पूर्वपार्टी कांग्रेसबाट तनहुँको निर्वाचनमा खटिएका महामन्त्री गगन थापाले छोरा दीपकराज जोशीसँग संवाद अगाडि बढाएका छन ।
कांग्रेसले निलम्बन फुकुवा गरेपछि आइतबार नै गगन थापासँग २ घण्टा जोशीले वान अन वान वार्ता गरेका थिए । वार्तामा आफूले प्याकेज डिल भए कांग्रेसलाई सघाउन र पार्टीमा फर्किन कुनै समस्या नरहेको बताएका छन । महामन्त्री थापाले भने कुनै आश्वासन दिन सकेनन ।
आइतबार कांग्रेसको निर्णयलाई भने उनी, ‘नाटक, जालझेल र चुनावको अगाडि अपनाएको हत्कण्डा’ भन्न मन पराउँछन । ‘प्याकेज डिल’ मा नै उनको फोकस छ ।
के हो त त्यो प्याकेज डिल ?
जोशी भन्छन, “हाम्रा मान्छेहरुको क्रियाशील सदस्य छैन, हिजो जसरी विजयकुमार गच्छदारको समूहलाई तलदेखि माथिसम्म भागबण्डा गरेको थियो, त्यो तरिकाले दिनुप¥यो नि ।”
कारवाही फिर्ता भयो भन्दाबित्तिकै भोट दिन जाउ भनेर भन्न नमिल्ने उनको तर्क छ । गोविन्दराज जोशीका शुभेच्छुकको सात हजार मत एकैठाउँमा जाने र कसलाई जान्छ भन्ने निर्णय भइनसकेको उनले बताए । त्यो मत कांग्रेसलाई नै दिनको लागि पार्टीले ‘विन–विन’ प्रस्ताव ल्याउनुपर्ने उनको तर्क छ ।
“बुवालाई ससम्मान ल्याउनुप¥यो, त्यसमा पार्टीले के गर्न सक्छ भन्ने कुरा हो । गोविन्दराज जोशी १७÷१८ वर्षसम्म पावर र पार्टीमा पनि नभएपछि जो मान्छे हाम्रा पछि लागेका छन, उनीहरुलाई कारवाही फुकुवाले के अर्थ राख्छ र ? त्यसको मूल्यांकन पार्टीले गरे राम्रो होला, नगरे हार्छ ।” उनले भने ।
कांग्रेसले बेवास्ता गरेको खण्डमा भने आफूहरु विचारको लागि यसअगाडि देखि नै लड्दै आइरहेको र त्यसलाई नै निरन्तरता दिइरहने उनले बताए ।
“विन–विन गेम खेले फाइदा हुने हो, हामीलाई त के छ र १७÷१८ वर्षदेखि लडिरहेको हो, लडिरहौँला ।” उनले थपे, “हामीले पार्टी खोलेको पनि होइन, त्यही पार्टीले दुख दियो, पार्टी बिग्रियो भनेर विचारको हिसाबले लडेको हो । अरु पार्टीमा गएको भए पनि भिन्दै कुरा । हामी त स्वतन्त्र समूह बनेर लडिरहेको हो, त्यत्ति कुरा पनि उनीहरुले त्यत्ति पनि बुद्धि पु¥याउँदैनन भने घाटा उनीहरुलाई नै हो ।”
गगनसँगको भेटमा उनले व्यक्तिगत कुरा गरेको बताए । आफूहरुले कांग्रेसमा भाग खोजेको नभई प्लेटफर्म खोजेको कुरा उनले महामन्त्री थापालाई सुनाएका छन ।
“गगनलाई तिम्रै पालामा कांग्रेस सकियो भने इतिहासले माफ त गर्दैन होला भनेको छु । सकियो भने, गोविन्दराज जोशी जस्ता व्यक्तिलाई पनि कारवाही गर्नु पनि एउटा च्याप्टर हुन्छ । त्यो च्याप्टर नराख्ने बनाउँछौ भने गर, भनेको छु ।” जोशीले भने, “गगनले सुनेर गए, उनले केही गर्लान, नगर्लान, मैले आफ्नो कुरा राखेको छु ।”
………..
गत मंसिरको प्रतिनिधीसभा निर्वाचनमा तनहुँ १ मा प्रत्यक्षतर्फ चौथो बढि मत रास्वपाले ल्याएको थियो । रास्वपाका विकास सिग्देलले छ हजार ४४ मत ल्याएका थिए । तर, यही क्षेत्रमा रास्वपाले भने समानुपातिकमा तेश्रो बढि मत पाएको छ । कांग्रेस २० हजार १५८ मत सहित पहिलो, नेकपा एमाले १६ हजार ६८३ मत सहित दोश्रो बन्दै गर्दा रास्वपाले १२ हजार ७७३ मत पाएको छ । चौथोमा माओवादी केन्द्रले सात हजार ३२६ मत पाएको छ ।
प्रत्यक्षमा छ हजार मत पाएको रास्वपाले समानुपातिकमा कसरी दोब्बर बढि मत पायो त ?
रास्वपाको समानुपातिक मत बढ्नुमा त्यही ‘जोशी फ्याक्टर’ को पनि सहयोग छ । स्वयं दीपकराज जोशी यसलाई स्विकार गर्छन । अहिले उपनिर्वाचनमा रास्वपाले भर्खरै कांग्रेस छाडेका अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उमेदवार बनाएको छ ।
के उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिने हो त जोशी समूहले ?
उनी भन्छन, “स्वर्णिमलाई मैले व्यक्तिगत रुपमा चिन्छु, रास्वपाका सदस्यहरु हाम्रै भाइहरु छन । नजिकका साथीहरु छन । तर, कुनै गिभ एण्ड टेकको विषयमा कुराकानी भएको छैन । मंसिरको चुनावमा मलाई नै रास्वपाबाट चुनाव लड्न प्रस्ताव आएको थियो ।”
तर, रास्वपालाई मत दिनेभन्दा पनि कांग्रेसमा फर्किने र त्यहीँ संघर्ष गर्न उचित हुने उनको तर्क छ ।
उनी भन्छन, “कुरा के हो भन्दा, रास्वपा पार्टीले राम्रो गर्ला, नराम्रो गर्ला फरक पाटो हो । एमाले, कांग्रेस दुइटै पार्टी एउटा विश्वविद्यालय हुन । विश्वविद्यालयका दुइचार प्रोफेसर खराब हुँदैमा विश्वविद्यालय नै भत्काउनुपर्छ भन्ने होइन । एउटा इतिहास छ, त्यसलाई बनाउन, सुधार गर्न सकिन्छ ।”
आफ्नो पारिवारिक वातावरण नै त्यस्तै रहेको र त्यही परिवेशमा आफू हुर्किएको उनी बताउँछन । आफ्ना लागि विकल्प भएतापनि बुवा गोविन्दराज जोशीको हकमा भने अर्को पार्टीमा जाने विषय नै नआउने उनको भनाई छ ।
“हामीले चिनेका मान्छेहरु, हुर्केको वातावरण पनि त्यही हो । नयाँ पार्टीमा गएर काम गर्न नसक्ने होइन । तर, त्यसलाई नै सुधार गर्न सजिलो हुन्छ, थोरै घरलाई रेट्रोफिट गर्न सकिन्छ भने भत्काएर खर्च किन गर्ने ? त्यो तरिकाले हेर्नुपर्ने हुन्छ ।” जोशी भन्छन, “भत्काउनै पर्ने गरि बिग्रेको चाहिँ छैन । बिचमा केही गलत भएहोला, एउटा पोलिटिकल इथिक्स र सिद्धान्तमा अडिग भएर पाँचवर्ष लाग्यो भने सकिन्छ ।”
स्वर्णिमले अवसर नै नपाएको भन्ने कुरामा उनी सहमत छैनन । कांग्रेसमा स्वर्णिमजस्ता योग्य तर अवसर नपाएका व्यक्तिहरु टोलटोलमा रहेको उनको तर्क छ । जोशी स्वयं १७ वर्ष अमेरिका बसेर फर्किएका हुन ।
“व्यक्तिगत रुपमा स्वर्णिमले मौका नपाएको होइन । तर, स्वर्णिमजस्ता इकोनोमिस्ट, इन्जिनियर, डाक्टर नेपाली कांग्रेसमा टोलटोलमा छन । कांग्रेसको कमजोरी के छ भने ट्यालेन्ट र नलेज म्यानेजमेन्ट चाहिँ छैन ।” उनले भने ।
विदेशमा बसेर, पढेर, कामग गरेर फर्किएकाहरुलाई कांग्रेसले संरचना परिवर्तन गरेर भित्र्याउनुपर्ने उनको भनाई छ ।
उनी भन्छन, “कांग्रेसमा नेविसंघ, तरुण दल अनि कांग्रेस हुने पार्टीको संरचना भयो । नयाँ मान्छेलाई पार्टीमा कसरी ल्याउन सकिन्छ भन्ने छैन । हामीजस्तो बाहिर बसेर पढेको मान्छे हामीलाई त कुनै स्थान नहुने भयो । टेक्नोक्रेटलाई कसरी म्यानेजमेन्ट र युज गर्न सकिन्छ, भन्ने नेतृत्व नभएर यस्तो भएको हो ।”
रास्वपालाई समर्थन गर्ने नगर्ने भन्दा पनि कांग्रेसबाट सँधै हेपिएर नबस्ने उनले बताए ।
“हामीले यसकै लागि लडेको हो । यसमा उनीहरुले सम्मानपूर्वक कुनै प्याकेज ल्याउँछ भने अवश्यपनि, त्यही घरमा बसेका हौँ, फेरि त्यहीँ जान कुनै आपत्ति छैन । तर, सँधै हेपिएर, बेवास्ता गरेर जानेकुरा हुँदैन ।”
…………..
दीपक उनै व्यक्ति हुन, जो गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेसँग मिलेर व्यास नगरपालिकाको मेयरमा उमेदवारी दिएका थिए । अनि, मंसिरमा सम्पन्न चुनावमा पनि उनका बुवा गोविन्दराज जोशी तनहुँ १ बाट उमेदवार बनेका थिए । त्यतिबेला जोशी समूह र तनहुँ एमालेबिच एउटा भद्र सहमति भएको थियो । ‘गोविन्दराज जोशी उमेदवार बन्ने, एमालेले आफ्ना उमेदवारको समर्थन फिर्ता लिने र जोशीलाई सघाउने ।’
तर, अन्तिममा एमालेले आफ्ना उमेदवार फिर्ता लिएन, जोशी पनि हारे, एमालेका उमेदवार पनि हारे ।
एमालेले अहिले तपाइहरुबाट आश गरेको होला नि त ?
यो प्रश्नमा उनले भने, “आश त अवश्य गर्छन नि ।” कहिँ न कहिँ अप्रत्यक्ष रुपमा हामीले भनेको त होइन । तर, गोविन्दराज जोशीमाथि कारवाही भएपछि ०७४ को चुनावमा एमालेका किसान श्रेष्ठलाई जिताएका हुन । हामीले व्यक्तिगत रुपमा देउ, नदेउ भनेको होइन ।
यसपटक मंसिरमा बुवा उठदा, एमालेले आफ्ना उमेदवारको समर्थन फिर्ता गराउने भद्र सहमति भएको थियो । छाडेको भए, एमाले र गोविन्दराज जोशीको मत जोड्दा रामचन्द्र पौडेलेका भन्दा बढि हुन आउँथ्यो । पौडेलले चुनाव हार्थे, हारेको भएर पोलिटिकल डिस्कोर्ष अर्कैतिर जान सक्थ्यो ।
तर, अन्तिममा एमालेले उमेदवार फिर्ता लिएनन । घाटा उनीहरुलाई नै भयो । उनीहरुले हामीलाई समर्थन हुँदैन भनेको भए पनि हामीले उमेदवारी दिने थिएनौँ । हाम्रो मत कति छ भन्ने हामीलाई थाहा छ । हामी नउठ्दै गर्दा अप्रत्यक्ष फाइदा त एमालेलाई नै हुन्थ्यो होला ।
एमालेले यसलाई गम्भीरताका साथ लिएनन । त्यही कारण हाम्रा पक्षका मान्छेहरु अहिले एमालेसँग त्यत्ति खुसी छैनन । पटकपटक हामीलाई धोका भयो भन्ने त छ नि त ।
जोशी भन्छन ः अन्तिमसम्म केही होला, अन्यथा तटस्थ नै बस्न पनि सकिन्छ
हाम्रो समूह भनेको एकदमै नजिकको र भावनात्मक सम्बन्ध भएको समूह हो ।
गोविन्दराज जोशी १८÷१९ वर्ष पार्टी र सरकारमा नहुँदा पनि पछि लागेर हिँड्ने मान्छेमा कुनै स्वार्थ लुकेको छैन । निस्वार्थ सहयोग गरेका मान्छेलाई हामीले आफ्नो स्वार्थको लागि यो गर र त्यो गर भनेर भन्न मिल्दैन । हामी बसेर छलफल गर्ने हो, छलफलमा यो गर्दा ठिक हुन्छ भन्दै गर्दा हामीले त्यही ठिक भनेर भन्नुपर्छ । किनभने उहाँहरुले अहिलेसम्म साथ दिनुभएको छ ।
आश त स्वर्णिमले गरेका होलान, एमालेले गर्ला, कांग्रेसले त नाटक मञ्चन गरिसक्यो । आज भर्खर नोमिनेसन भएको हो । मलाई नै एमाले, राप्रपाले उठ भनेका थिए । तर, उठ्नको लागि उठ्ने कुरा भएन । राजनीति दीर्घकालीन रुपमा गर्ने हो, चुनाव त एकपटक जिते र अर्कोपटक हारे के हुन्छ भन्ने ग्यारेन्टी छैन ।
राजनीतिक करिअर चाहिँ पार्टीमा बनाउनुपर्छ भन्ने हाम्रो कुरा हो । त्यत्तिकै हामीलाई भोट दे भन्दै त नआउलान । सहयोग किन गर्ने केही न केही कारण त होलान ।
अहिलेको राजनीतिमा गिभ एण्ड टेक त हुन्छ । भर्खर नोमिनेसन भएको छ, यसलाई नै मत दिने भन्ने केही भएको छैन । अहिले तटस्थ नै छौँ । चुनावसम्म केही होला ।
चुनावसम्म को उमेदवारले के भन्छ हामीलाई हेर्ने मौका पनि छ । ‘विन–विन’ हुने प्याकेज नआउँदासम्म हामीले सहमति चाहिँ गर्दैनौँ ।





