बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सरस्वतीमा शैक्षिक अन्तरक्रिया

सरस्वतीमा शैक्षिक अन्तरक्रिया


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७९, बुधबार

नवलपुर/ शिक्षासँग सम्वन्धित सरोकारवालाहरुले आफ्नै ठाउँका बालबालिकालाई नजिकैको बिद्यालयमा पढ्ने वातावरणको सृजना गर्नुपर्नेमा जोड दिएका छन् । कावासोती नगरपालिका वडा नं. ४ हसौरास्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा आयोजित शिक्षासँग सम्वन्धित सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् ।

नयाँ शैक्षिक सत्र सुरु हुनुपुर्व विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवालाहरुको राय, सल्लाह सुझाव संकलन र भावी शैक्षिक योजना निर्माण गर्ने उदेश्य सहित आयोजित अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले विद्यालयले भौतिक अवस्था, पूर्वाधारको स्थिति, बाल कक्षादेखि १२ कक्षासम्मको अध्ययन अध्यापन सहित विद्यालयमा अवलम्वन गरिएका असल अभ्यास तथा आगामी उदेश्यका विषयमा डिजिटल कार्यपत्र प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सुशिल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयसँग सम्वन्धित अन्य समिति, उपसमिति, वडा नं. ४ का सामाजिक संघसंस्था, टोलविकास संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा विद्यालयले पछिल्लो समयमा शैक्षिक स्तर सुधारमा प्रशसनीय उपलब्धि हासिल गरे पनि ब्यवस्थापकीय पाटोमा अझ धेरै ध्यान पुर्याउन पर्ने सुझाव सहभागीले दिए । विद्यार्थी संख्या बढाउने नाममा स्कुल वस प्रयोग गरेर टाढाका थोरै विद्यार्थी उठाउँदा आर्थिक भार थोपरिएको सहभागीको बुझाई छ ।

यस विषयमा वडाभित्रका अभिभावकसँग शैक्षिक सरोकारवालाहरु सहितको समुहले टोल–टोलमा सामुदायिक विद्यालयको स्तरीयता र शैक्षिक गुणस्तरमा भएको बृद्धिको प्रचारप्रसार सहितका अभियान योजना लैजान आग्रह गरिएको छ ।

सहभागीहरुले वडा नं. ४ कृषिका लागि उपयुक्त रहेकोले यहाँ कृषितर्फको प्राविधिक शिक्षालयको आवश्यकता रहेको तर्क गरे ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका नगर शिक्षा शाखा कावासोतीका प्रमुख क्षेत्रबहादुर भण्डारीले समुदाय, सामाजिक–शैक्षिक सरोकारवाला ब्यक्तित्वहरुसँग विद्यालय र शिक्षा शाखाले समेत समन्वय–सहकार्य बढाउँदै शैक्षिक उन्नययनमा लाग्नुपर्ने आफुले महसुस गरेको धारणा राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->