नवलपुर / नवलपुर प्रहरीले साउनदेखि चैत मसान्तसम्मको ९ महिनाको अवधिमा ७ करोड २० लाख ७० हजार ८९० राजश्व संकलन गरेको छ । जसअनुसार भन्सार छली सामग्रीबाट ४ करोड ६५ लाख ८५ हजार ८४० राजश्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको यो अवधिमा भन्सार छलीका ३८ वटा कारवाहीबाट यो राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी भुवनेश्वर तिवारीले तथ्याङ्क सार्वजनिक गरे । ट्राफिक कारवाहीबाट रु. १ करोड ७९ लाख ४० हजार ५ सय राजश्व संकलन भएको छ । यस अवधिमा २३ हजार २५० साधन कारवाहीमा परेका हुन् ।
यस्तै, कसुरजन्य सम्पत्ति लिलाम बिक्रीबाट ४१ लाख ४३ हजार ३३२ , प्राकृतिक स्रोतको चोरी निकासी कारवाहीबाट . २५ लाख ८ हजार ७०८ , काठ तस्करी कारवाहीम ६ लाख १६ हजार ७५ राजश्व संकलन भएको प्रहरी विवरणमा उल्लेख छ भने जुवातास तथा सट्टेवाजीअन्तर्गतको कारवाहीबाट २ लाख ७६ हजार ४ सय ३५ राजश्व संकलन भएके हो । यो अवधिमा सो कारबाहीमा जिल्लाका विभिन्न स्थानबाट ५६ जना कारवाहीमा परेका छन् ।
यस्तै, चालु आर्थिक वर्षको ९ महिनामा नवलपुरमा ९६ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । साउनदेखि चैत मसान्तसम्मको अवधिमा सो संख्यामा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आर्थिक वर्षको पहिलो महिना साउनमा सबै भन्दा धेरै २१ वटा घटना दर्ता हुँदा सबैभन्दा कम फागुन महिनामा एउटा मात्रै घटना दर्ता भएको प्रहरीको तथ्याङक छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार अधिकांश घटना पति–पत्नीबीचका दर्ता भएको देखिन्छ । दर्ता घटनामा अधिकांश महिला पीडित भएको विवरणमा उल्लेख छ । अधिकांश घटना मिलापत्र गरेर समाधान गरिएको प्रहरी प्रमुख तिवारीले बताए ।





