म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका वडा नं ९ घतानको एक घरमा दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राजनाग भेटिएको छ ।
बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरमा पिंडीमा अचानक राजजाग (किङ कोब्रा) देखिएपछि हेर्नेहरुको भीड लागेको बेनी नगरपालिका वडा नं ९ घतानका वडाअध्यक्ष चक्रवहादुर केसीले बताए ।
विगत ९ वर्षदेखि पंक्षी तथा जंगली प्राणीहरुको खोज अनुसन्धानमा लागेका त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र उत्र्तीण) केशव चोखालले मंगलवार खड्काको घरमा भेटिएको नाग दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राजनाग नै भएको पुष्टि गरेका छन् ।
चोखालका अनुसार २०७६ जेठमा पनि घतानकै कोशेपानीको जंगलमा किङ कोब्रा फेला परेको थियो ।
नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो सर्प पछिल्लो समय नेपालको मध्य पहाडी क्षेत्रहरुमा फाट्टफुट्ट देखिन थालेको प्राणी शास्त्रका अध्यता चोखालले बताए । चोखालका अनुसार यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक छ ।
नेपालीमा राजनाग,कालिनाग भनिने यो सर्पको वैज्ञानिक नाम ओपिओपगुस हन्नह हो । यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने सर्प भएपनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्य पहाडी क्षेत्रमा बसाइँ सरेको हुनसक्ने चोखालको अनुमान छ । यो अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसको टोकेको जानकारी भने नरहेको चोखालले बताए ।
यो सर्पलाई नचलाउने,नजिस्काउने र यसको नजिकमा नजाने हो भने यसबाट बच्न सकिने चोखालको भनाइ रहेको छ ।
म्याग्दीमा २०७६ सालमा भेटिएको सो नाग ‘किङ्ग कोब्रा’ अर्थात राज नाग नै भएको किङ्ग कोब्राका विशेषज्ञ एवम् हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गरेका थिए । अहिले पनि सोही नाग पुनः खड्काको घरमा भेटिएको प्राणी शास्त्रका जानकार चोखालले बताए । चोखालका अनुसार नेपालमा पाइने ८२ प्रजातीका सर्पहरुमध्ये किङ्ग कोब्राको संख्या अत्यन्त न्यून रहेको छ । यो सर्प नेपालको मात्रै नभएर विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो । यो सर्प दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६ वटा देशमा मात्रै पाइन्छ । विश्वका १६ वटा देशमा पाइने भएपनि थाइल्याण्डको जंगली क्षेत्रमा बाहेक अरु ठाउँमा यो अत्यन्त दुर्लभ प्रजातीमा रहेको उनले जानकारी दिए ।
चोखालका अनुसार यसले आहाराको रुपमा अरु सर्पलाई नै खाने गर्दछ । कहिलेकाँही आफ्नै प्रजातिका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको उनको भनाइ छ । चोखालले दिएको जानकारी अनुसार यसलाई आइयूटिएन(विश्व संरक्षण संघ)को रातो सूचीमा अति संवेदनशील भनेर सूचीकृत गरिएको छ । त्यसैगरी नेपालको कानुनले पनि संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । उनका अनुसार यो सर्प विश्वव्यापी रुपमा नै अति कमलाई मात्र जानकारी भएको सर्प हो ।





