मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

संखुवासभा हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर

संखुवासभा हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८०, शुक्रबार

विराटनगर / सिम्रिक एयरको हेलिकप्टर शुक्रवार संखुवासभामा दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङले हेलिकप्टरमै रहेका कोपाइलट टिम मेम्बर छिरिङ भोटे भने सकुशल रहेको बताए ।

माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको वडाअध्यक्ष तामाङले बताए ।

सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसका लागि आयोजनाले सिम्रिक एयरसँग सम्झौता गरेको थियो ।

घटनास्थलमा रहेका तामाङले हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको बताए ।

सिम्रिक एयरले दुर्घनापछिको अवस्था बारेमा कुनै जानकारी नभएको बताएको छ । सिम्रिकले भन्यो, ‘हेलिकप्टर दुर्घना भएको ठाउँमा फोन लाग्दैन । हामीले अर्काे हेलिकप्टर पठाएका छौं । केही बेरमा घटनाको जानकारी आउने छ ।’

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए । कार्कीले भने, ‘घटनास्थलमा प्रहरीको टोली पठाइएको छ, प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->