शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बसाइँ सरे ताल सफा गर्ने चरा : नासिदै जैविक विविधता

बसाइँ सरे ताल सफा गर्ने चरा : नासिदै जैविक विविधता


  • धु्रवसागर शर्मा
  • बैशाख २४ २०८०, आइतबार

म्याग्दी/ म्याग्दीको मालिका गाउँपालिका वडा नं १ निस्कोट गाउँको शिरानमा रहेको बराहा तालको जैविक विविधता नासहुँदै गएको छ ।
चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनहरुको पहुँचसँगै मानिसहरुको भीडभाड बढेपछि यहाँ पाइने चराहरु बसाइँ सरेर अन्यत्र गएका स्थानीयले बताएका छन् ।

प्राकृतिकरुपमा बनेको यो तालको भू बनोट नै अचम्मैको छ । यहाँबाट क्षितिज (आकाश र धर्ती जोडिएजस्तो देखिने ठाउँ) मा देखिन्छ हिमाल । गाउँको सिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर हुँदैन । यहाँ जङ्गलका पात पतिङ्गर परिहाले भने पनि पन्छीले चुच्चोले टिपेर बाहिर फ्याँक्ने गर्दथे । तर पछिल्ला चार वर्षयता यहाँका रैथाने चराहरु देखिन छोडेका र ताल सफा गर्ने चराहरु पनि कम हुँदै गएका स्थानीय टेकबहादुर पुनले बताए ।

निस्कोट गाउँमा पुगेपछि घना वनजङ्गलको बिच भाग र केही मानव बस्ती रहेको ठाउँमा बराह तालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ । झण्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको बराह तालको जैविक विविधता संरक्षणमा स्थानीय तहको ध्यान जान आवश्यक रहेको तालको अवलोकनका लागि निस्कोटमा आएका पोखराका धनमणि अर्मजाले बताए ।

रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराह तालमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको छ । मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालको लर्कन देखिने निस्कोटको बराह तालमा पुगेका पर्यटकहरु यहाँको प्राकृतिक सुन्दरता र जैविक विविधतामा रमाउने गर्दछन् ।

समुद्री सतहदेखि दुई हजार ३०० मिटरको उचाइमा अवस्थित बराह ताल र तालको आसपासबाट मनोरम हिमशृङ्खला देखिन्छन् ।
बराह ताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, माना पाथीलगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृश्यको प्रत्यक्षरुपमा अवलोकन गर्न सकिन्छ । बराह तालमा वन जङ्गल र हिमाल
देखिने प्रतिविम्ब (छाया) समेत आकर्षकरूपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताए ।

हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेलाई अचम्मित बनाउँछ ।

निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराह तालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन् । निस्कोट गाउँबाट आधा घण्टाको दूरीमा पर्ने बराह ताल स्थानीयका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ । वन जङ्गलको बिच भागमा ताल रहे पनि त्यसमा कुनै पातपतिङ्गर हुँदैनन् । पातपतिङ्गर परेमा चराले सफा गर्ने गरेको मालिका गाउँपालिका वडा नं १ का वडाअध्यक्ष टंकप्रसाद पुनले बताए ।

बराह तालमा बिहान सबेरै दुईवटा जलहाँस जलक्रिडा गर्न आउने गरेको स्थानीयवासीले अनुभव सुनाउँछन् । तर पछिल्लो समय ती जलहाँसहरु देखिन छोडेको उनीहरुको भनाइ छ । छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ । निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक दृश्य देखिन्छन् । निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीतह सुन्न पाइन्छ । बराह ताल र निस्कोट गाउँको सुन्दरताले पर्यटकको मन लोभ्याइरहन्छ ।

बराह ताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटक भ्रमण गर्नका लागि पुग्ने गरेका छन् । बराह तालको पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँको जैविक विविधताको संरक्षण गरी पर्यावरणीय शुद्धता कायम पालिकामार्फत आवश्यक पहल गरिने निस्कोटका वडाध्यक्ष पुनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->