नवलपुर/ मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरु नियन्त्रणमा लिएको छ ।
निर्माणाधीन अरुणखोला–मित्याल–रामपुर सडक खण्डमा निर्माण कम्पनीले अवैध रुपमा क्रसर उद्योग सञ्चालन र खोला उत्खनन् गरेको पाएपछि नगरपालिकाले उपकरणहरु नियन्त्रणमा लिएको नगर प्रमुख भिमलाल अधिकारीले बताए ।
संघीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माणधिन उक्त सडक खण्डको राईकोटमा निर्माण कम्पनी रवण रोजन जेबी चितवनले घुम्ती क्रसर स्थापना गरेको छ । क्रसर स्थापना पूर्व कुनै अनुमति नलिएको उक्त ठेक्केदार कम्पनीले स्थानीय खोलाबाट ठुलो परिमाणमा नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको अनुगमनको क्रममा भेटिएको नगर उपप्रमुख पूर्णकला चौधरीले बताइन् ।
उनका अनुसार यस अगाडी समेत निर्माण कम्पनीका उपकरणहरुले अवैध उत्खनन् गरेको भेटेपछि नगरपालिकाले निर्माण कम्पनीलाई नियमानुसारको राजश्व दाखिला अनुरोध गरेको थियो । पटकपटक नगरपालिकाले गरेको अनुरोधलाई बेवास्ता गर्दै निर्माण कम्पनीले अवैध रुपमा क्रसर समेत सञ्चालन गर्न थालेपछि नगरपालिकाले अवैध उत्खनन्मा संलग्न दुईवटा एक्साभेक्टर, दुईवटा जेसिभी र एउटा ट्क्याटर नियन्त्रणमा लिएको अनुगमन समितिका सदस्य एवम् मध्यविन्दु १० का वडा अध्यक्ष रणबहादुर थापाले बताए ।
निर्माण कम्पनीले सडक निर्माणको क्रममा आवश्यक ग्रावेल, ढुंगालगायतको सामग्रीहरु स्थानीय खोलाबाट नै अवैध रुपमा उत्खनन् गर्दै आएको अनुगमन समितिका सदस्यहरुले बताएका छन् । निर्माण कम्पनीले राईकोट भन्दा केही उत्तरतर्फ पाल्पाको निस्दी गाउँपालिका जोड्ने जलुके पुल निर्माणस्थल नजिकै सिमेन्टबाट ब्लकहरु उत्पादन गरेर चितवन सम्म निकासी गरेको पाइएको अनुगमन टोलीका सदस्य नगरपालिकाका अधिकृत छैठौं तहका विकास नरसिंह राणाले बताए । नगरपालिकाले नियन्त्रणमा लिएको उपकरणबाहेक पनि अवैध उत्खनन्मा प्रयोग भएका केही सवारीहरुको सवारी नम्बर टिपेर निर्माण कम्पनीको कार्यालयमा नै छाडिएको छ ।
मध्यविन्दु नगरपालिकाको अरुणखोलाबाट बतासेहुँदै पाल्पाको मित्याल, रामपुर जोड्ने उक्त सडक राष्ट्रिय सडकअन्तर्गत रहेको पूर्वाधार बिकास कार्यालय नवलपरासी पूर्वका निमित्त कार्यालय प्रमुख रविन्द्र तिवारीले बताए । यस वर्ष असार सम्म करिव ८ किलोमिटर सडक कालोपत्रे निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको तिवारी बताउँछन् ।
सडक निर्माणको क्रममा ठेक्केदार कम्पनीबाट कुनै कमजोरी भएको भए सो सम्बन्धमा आवश्यक समन्वय गरेर निर्माण कार्यलाई तिब्र बनाउने तिवारीको भनाइछ ।
निर्माणधीन सडक सम्पन्न भएपछि अरुणखोलाबाट पाल्पाको रामपुर सहित पूर्वी पाल्पा र मध्यविन्दु नगरपालिकाको वडा नं. १४ हुप्सेकोट गाउँपालिकाको वडा नं. ६ लगायत क्षेत्रका स्थानीयहरुको आवतजावत सहज हुनेछ ।
सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएपस्चात तत्कालिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।





