नवलपुर/ नवलपुरमा पनि ट्राफिक सप्ताह २०८० अभियानको थालनी भएको छ । वैशाख २५ देखि ३१ गतेसम्मका लागि गण्डकी प्रदेशभर तय भएको अभियानको नवलपुरमा पनि सुरुवात गरिएको हो ।
मोटरसाइकलमा बालवालिकालाई राखेर यात्रा गर्नुपर्दा सुरक्षाका निम्ति हेल्मेट प्रयोग गराँै भन्ने सचेतनाका निम्ति २ जना बालवालिकालाई हेल्मेट लगाइएको थियो । यस्तै, २०४९ सालदेखिको चालक रेकर्डमा अहिलेसम्म दुर्घटनारहित चालकका रुपमा छनौट भएका कावासोतीका बस चालक र मालबाहक चालक २ जनालाई कदर पत्र प्रदान गरिएको थियो । औपचारिक समारोह समापनपछि पुर्वपश्चिम मुख्य मार्गमा गुडेका २ वटा लामो दूरीका बसमा सचेतना र सप्ताहव्यापी अभियानको सन्देश लेखिएका ब्यानर टाँगेर अभियानका अन्य गतिविधि थालिएको छ ।
ट्राफिक प्रमुख गणेश पौडेलले सप्ताहब्यापी अभियानका क्रममा मुख्य मार्ग र ग्रामीण मार्गमा सडक सुरक्षा चेकजाँचका साथै सडकमै सचेतना, आठै पालिकाका विभिन्न विद्यालयमा अभिमुखीकरण, विभिन्न टोल विकास संस्थासँग अन्तरक्रिया, चालक–सहचालकको स्वास्थ्य परिक्षण लगायतका गतिविधि सञ्चालन गरिने तालिका रहेको सुनाए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले नेपालमा सडक दुर्घटनाको स्थिति, नवलपुरमा सडकको अवस्था र दुर्घटनाको प्रकृति, दुर्घटना न्यूनीकरणमा स्थानीय सरकारदेखि सरोकावाला पक्ष र नागरिक समाजले खेल्नुपर्ने भूमिका, सडक सुरक्षा र नागरिकको सुरक्षाका लागि सुरक्षा संयन्त्रले गरेका पहलकदमीका विषयमा स्पष्ट पारेका थिए । यसअघि जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख बावुराम बिश्वकर्माले सुरुवात गरेका थिए ।





