काठमाडौं / नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको ललितपुरस्थित घरमा प्रहरीले छापा मारेको छ । ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरको टोलीले मंगलवार खानतलासी गरेको हो।

नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएका छन् । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । हाल उनी सम्पर्कविहीन छन् । प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेको थियो ।
अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि अर्घाखाँचीमा कानुनलाई सघाउँछु भन्दै हिँडेका उनी अहिलेसम्म सम्पर्कविहीन छन्। नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा बिचौलियाहरुबाट करोडौं रकम बुझेको आरोप टोपबहादुर र छोरा सन्दीपमाथि लागेको छ।
टोपबहादुर गत वैशाख २० गतेदेखि गायब छन्। उनका छोरालाई प्रहरीले त्यही दिन बुटवलबाट पक्राउ गरेर हिरासतमा लिइसकेको छ। बिचौलियाहरुले सन्दीपको नाममा चार वर्षअघि डेढ करोडको चेक काटेका थिए।





