मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

यसरी पक्राउ परेका थिए पूर्वगृहमन्त्री बालकृष्ण खाँण

यसरी पक्राउ परेका थिए पूर्वगृहमन्त्री बालकृष्ण खाँण


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०८०, बुधबार

काठमाडौं / चाबहिलको मैजुबहालस्थित पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा बुधबार बिहानैबाट सादा पोशाकका प्रहरी परिचालित थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै लाखौं असुली गरेको गिरोहका सदस्यलाई सहयोग गरेको खुलेपछि प्रहरी उनलाई पक्राउ गर्ने तयारीमा थियो ।

नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी जारी भएको सूचना चुहिँदा प्रहरीले अपजस खेप्नु परिरहेको छ ।

यस्तोमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको संलग्नता देखिएपछि उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले गोप्य अपरेशन चलाएको थियो ।

सादा पोशाकका प्रहरी बिहान ९ बजेतिर उनको घरभित्र छिरेको थिए । टोलीले उनलाई प्रहरी कार्यालयमा जानुपर्ने बतायो ।

तर, खाँणले आफूले केही गल्ती नगरेको जिकिरसहित ‘किन जाने ?’ भन्दै प्रतिवाद गरे । त्यसपछि खाँणको घरमा रहेको प्रहरी टोलीले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीलाई पनि खबर गर्यो । त्यसक्रममा बयानका लागि जानुपर्ने भएको भन्दै उनले पनि बताएपछि खाँण ‘फोन गर्छु’ भन्दै कोठाभित्र प्रवेश गरे ।

खाँणको घरमा पुगेका एक प्रहरी अधिकृतका अनुसार त्यसक्रममा उनलाई फोन गर्न पनि टेकु गएपछि दिइने बताइएको थियो । खाँणले ‘जबरजस्ती गर्ने’ भन्दै प्रतिवाद गरे । भित्र गएर उनले कोहीसँग फोनमा समेत कुरा गरे । तर, प्रहरीले उनलाई जानैपर्ने भन्दै बोलाइरह्यो ।

त्यसक्रममा उनले ‘जे-जे सोध्नुपर्ने छ, यहीँ सोध्नु’ भन्दै जवाफ फर्काए । त्यसक्रममा प्रहरीले उनलाई जरुरी पक्राउ पूर्जी थमायो । उनकै गाडीमा टेकुसम्म जान अनुरोध गर्यो ।

त्यसपछि प्रहरी टोलीले पूर्वगृहमन्त्री खाँणलाई उनकै बा १७ च ३७३ नम्बरको गाडीमा हालेर जिल्ला प्रहरी परिसर, टेकुमा ल्यायो ।

टेकुमा अहिले उनीसँग प्रारम्भिक सोधपुछ भइरहेको छ । खाँणसँगै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->