म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङकी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिलु बुदुजाले बुधबार सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा तरक्क आँसु झारिन । राजनीतिक तथा सामाजिक कार्यमा मात्रै नभई आफन्त र घरपरिवारबाट समेत तातो फलामले डामेजस्तै महसुस गरेकी बुदुजाले बोल्दा बोल्दै आँसु पुछ्दै रुन्चे स्वरमा बोल्दा केहीबेर गला नै अवरुद्ध भयो ।
म्याग्दी जिल्लाका सार्वजनिक भएकी एक मात्रै तेस्रोलिङ्गी बुदुजाले बाल्यकालदेखि अहिलेसम्म भोकेको पारिवारिक, राजनीतिक तथा राज्यका संयन्त्रबाट गरिएको तल्लोस्तरको व्यवहारका बारेमा खुलेर बोलिन् । उनी आँखाबाट आँसु निकालेर बोल्दै गर्दा वरिपरि रहेका अन्य सहभागीको समेत आँखा रसाए । समाजको चाहना अनुसार महिला र पुरुष नहुँदा भोकेको पीडा सुनाउँदै गर्दै कार्यक्रममा सहभागी महिलाको आँखा रसाएको थियो ।
‘बाल्यकालदेखि अहिलेसम्म तेस्रोलिङ्गी भएकै कारण मसँग कहिल्यै मीठो बचन बोलेनन्,‘यौनहिंसादेखि धेरै लडाइ पार गदैं यहाँसम्म आएको छु,’बुदुजाले भनिन् । हाउभाउ र बोल्ने शैली छोरीको जस्तै भएपनि शरीर पुरुषको भएकाले हिँजडा भन्दै अपमान गर्ने गरेको उनले बताइन् । २०६८ सालमा महिलाको परिचयबाट तेस्रोलिङ्गीको नामबाट नागरिकता निकालेपछि राजनीतिक रुपमा पहिचान समेत गुमाएको उनले बताईन् ।
उनले आफ्नो नाम दिलकुमारी बुदुजा देखेपछि ज्यान नै जोगाउन समस्या भएपछि आफूले नागरिकताबाट कुमारी हटाएको बताइन् । ‘जागिरदेखि राजनीतिक अवसरसम्म तेस्रोलिङ्गीकै कारण बन्चित हुनुप¥यो,नेताहरूबाटै झण्डै बलात्कारको शिकार भएँ’ समावेशी मञ्च नेपालका अध्यक्ष बुदुजाले भनिन् । बोल्ने क्रममा घोप्टिएर आँसु लुकाउने प्रयास गरेकी बुदुजाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भएकै कारण राजनीतिक रुपमा समेत उम्मेदवार बनाउनबाट बन्चित गराएको गुनासो गरिन् ।
हत्तपत्त आँसु नखसाल्ने बुदुजाले पत्थरको जस्तै मुटु भएपनि आफ्नो जीवनमा भोकेको समस्याले रुन बाध्य भएको बताइन् । गएको प्रतिनिधिसभाको निर्वाचनमा म्याग्दीबाट प्रतिनिधिसभाका लागि नेकपा एकीकृत समाजवादीको तर्फबाट समानुपातिककी उम्मेदवार समेत रहेकी बुदुजाले प्रणालीमा परिवर्तन र राज्यबाट सहयोग नपाएको गुनासो गरिन् । उनले निर्वाचन आयोग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विरोधी भएकाले कानुनी लडाइँ लडेर मात्रै उम्मेदवार बन्न सफल भएको बताइन् । २०७४ सालको स्थानीय चुनावमा उम्मेदवारी दिन चाहेपनि आफ्नै पार्टीले पहिचानसहितको नागरिकताले उम्मेदवारी खारेज हुने भन्दै अवरोध गरेको बताईन् ।
‘मैले राजनीतिक यात्रा छोड्दैन्,लैङ्गिक पहिचानबाटै संसदमा पुगेर आफ्नो नाम राख्ने छु,’ बुदुजाले भनिन् । बुदुजाले भोगिरहेको समस्यालाई “विभेदको फरक स्वरूप र राज्यको नजरमा दोस्रो दर्जाको नागरिकको संज्ञा दिएकी छन् । म्याग्दीमा आफूजस्ता धेरै भएपनि परिचय खुलाउन नसक्ने अवस्था रहेको बताईन् । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले हरेक निकायमा व्यवधान झेल्नु पर्ने परेकाले अबको लडाइँ कानुनी र प्रतिरोत्धात्मक हुने उनीहरुको भनाई छ । म्याग्दीको स्थानीय तहका जनप्रतिनिधिहरुले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक, अधिकारको सुरक्षा र कार्यान्वयनका लागि आफूहरु संवेदनशील रहेको प्रतिबद्धता जनाएका छन् ।
नेपालको संविधानले धारा १२ मा नागरिकताको हक, धारा १८ मा समानताको हक र धारा ४२ मा सामाजिक न्यायको हकमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको हक सुरक्षित गरेको छ । नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको जनसङ्ख्या १० लाख रहेको जनाइएको छ । सामान्यतयाः कोही व्यक्ति शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाको रूपमा मान्छ वा कोही शारीरिक रूपमा महिलाको रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबले आफूलाई पुरुष ठान्छ भने उनीहरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायभित्र पर्दछन् ।





