नवलपुर / दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपुर जिल्ला अदालतले मध्यविन्दु नगरपालिका-९ का मोहन पुनलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई एक लाख ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको जिल्ला अदालतका नायव सुब्बा सन्तोष सिग्देलले जानकारी दिए ।
पुनले ०७७ भदौ १८ गते बलात्कार गरेको भन्दै पीडित बालिकाको तर्फबाट ०७७ असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो । उजुरी दर्तापछि पुन ०७७ कात्तिक ३ गते गिरफ्तार भएका थिए ।
उनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुर्पक्षको लागि थुनामा पठाएको थियो । पिडित बालिकाको ०७७ असोज २९ गते जिल्ला अस्पताल नवलपुरमा स्वास्थ्य परीक्षण भएको थियो ।





